संतोष रन्जितकार
वीरगन्ज, २ जेठ ।
एडिबी अन्तर्गतको मझौला शहर एकीकृत वातावरणीय सुधार आयोजना ५ वर्ष बितिसक्दा पनि सम्पन्न भएको छैन ।
कालिका कन्स्ट्रक्शनले सन् २०१४ अप्रिल २८ मा २४ महीनाभित्र कार्य सम्पन्न गर्नेगरी योजनाको ठेक्का लिएको थियो । अहिले ५ वर्ष बितिसक्दा पनि ९८ प्रतिशत मात्रै सम्पन्न भएको छ, अझै २ प्रतिशत काम बाँकी नै रहेको छ । आयोजनाका व्यवस्थापक शैलेन्द्र श्रेष्ठले पहिलो चरणको कार्यमा विभिन्न बाधा, व्यवधान आइपरेको कारण आयोजनाको काममा ढिला भएको बताए । उनले पछिल्लो पटक जून ७ सम्म काम सम्पन्न हुने गरी कालिका कन्स्ट्रक्शनलाई म्याद थप गरेको र त्यसपछिको समयमा म्याद थप नहुने बताएका छन् ।
पहिलो योजना सम्पन्न नहुँदै कालिकाले नै एडिबी अन्तर्गतको क्षेत्रीय शहरी विकास आयोजनाको काम गर्दैछ । २०१८ डिसेम्बर ९ देखि कार्य शुरू गरेको कालिकाले दोस्रो आयोजना २४ महीना सम्ममा पूरा गरिसक्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । अहिले दोस्रो योजनाको काम ३० प्रतिशत सम्पन्न भएको आयोजना व्यवस्थापक श्रेष्ठले बताए । उनले अन्य कुनै कारण आइ नपरे दोस्रो योजना तोकेको समयमा सम्पन्न हुने दाबी गरे ।
पहिलो योजनामा भूमिगत नाला, सडक कालोपत्र र पानी प्रशोधन केन्द्रको काम भएको थियो भने दोस्रो योजनामा भूमिगत ढल र सडक कालोपत्रको काम भइरहेको छ । अहिले बाइपास सडकलाई ६ लेन बनाउने, घण्टाघर, लिंकरोड, पिपरा लिंकरोड, कवि शिरोमणि रोड, भिस्वा, राधेमाई र कन्या माविदेखि हरिखेतान क्षेत्रमा ढल, कालोपत्रेको कार्य सम्पन्न गरिने आयोजनाका व्यवस्थापक श्रेष्ठले बताए ।