प्रदेश सरकारले आफ्नो असली चरित्र देखायो ः अध्यक्ष चौहान

12

संतोष रन्जितकार
वीरगञ्ज, ३ जेठ ।
प्रेसलाई अंकुश लगाउँदै आफ्नो नियन्त्रणमा बनाई राख्ने दिशातिर संघीय सरकारभन्दा प्रदेश २ को सरकार बढी आक्रमक देखिएको संचारकर्मीहरुले बताएका छन् । नेपाल पत्रकार महासंघ, पर्साको अगुवाईमा भएको जिल्ला प्रसाशन कार्यालय घेराउ कार्यक्रममा पुगेका पत्रकारहरुले यस्तो आरोप लगाएका हुन ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय पर्सा अगाडी प्रेस सामग्री सहितको प्रदर्शन कार्यक्रममा सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दीपेन्द्र चौहानले संघीय सरकारभन्दा प्रदेश सरकारले दुई कदम अगाडी बढेर प्रेस स्वतन्त्रतामाथि प्रहार गरेको आरोप लगाउनुभयो ।

संघीय सरकारले ल्याएको विधेयक भन्दा कडा विधेयक ल्याएर प्रदेश सरकारले आफ्नो असली चरित्र प्रदर्शन गरेको आरोप लगाउनु भयो । अध्यक्ष चौहानले आफु यस सन्दर्भमा मुख्यमन्त्री लालबाबु राउत गद्दीसंग बुझ्दा उनले यस विधेयकको सन्दर्भमा कुनै जानकारी नभएको प्रतिक्रिया दिंदै आफु महान्याधिवक्ता दिपेन्द्र झासंग बुझ्ने बताउनु भयो ।
आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रदेश २ को संसदमा पेस गरेको संचारसम्बन्धी विधेयकमा संचारकर्मीलाई एक करोड रुपैयाँसम्म जरिवाना गर्ने प्रावधान राखेपछि प्रदेशका संचारकर्मीले त्यसबिरुद्ध प्रतिक्रिया जनाएका छन् ।
प्रदेशका उपाध्यक्ष केसी लामिछानेले पत्रकारहरुलाई नियन्त्रण गर्न संघीय सरकारले ऐनको विधेयक राष्ट्रियसभामा पेश गरेकोमा सबै सञ्चारकर्मी, नेपाल पत्रकार महासंघ र वर्तमान प्रेस काउन्सिलसमेत असहमति जनाएको बताए । संघीय सरकारभन्दा प्रदेश २ को सरकार प्रेसप्रति अझ बढी आक्रमक देखिएको उनको भनाई छ ।
पछिल्लो समयमा प्रदेश सरकारले नागरिकलाई कानुन बमोजिम सूचना नदिने, सूचना लुकाउने र पत्रकारप्रति असहिष्णु व्यवहार प्रस्तुत गर्ने गरेको सञ्चारकर्मीको आरोप छ। प्रदेश सरकारमा व्यप्त भएको अनियमितता ढाकछोप गर्न यस्तो प्रवृति देखिएको वक्ताले आरोप लगाए। महासंघका प्रदेश सदस्य जगत राई र पर्सा अध्यक्ष श्याम बन्जाराले सञ्चार जगतलाई अंकुश लगाउने गरी संघीय सरकार र प्रदेश सरकारले चालेको कदम नसच्चिए कडा र निरन्तर आन्दोलन बढाउने जनाए।