प्रहरीद्वारा ठूलो परिमाणमा गाँजा र चरेस बरामद

40

संतोष रन्जितकार
वीरगंज, ३ जेठ ।
पटेर्वासुगौली गाउँपालिकामा प्रहरीले छापामारी गरी ठूलो परिमाणमा गाजा र चरेस बरामद गरेको छ । पर्साको पटेर्वासुगौली गाउँपालिका–५ देउरियाबाट २८३ किलो गाजा र ५ किलो चरेश बरामद गरिएको हो ।
मकवानपुरतिरबाट गाजा ल्याइ देउरियास्थित घरहरुमा लागूऔषध गाजा र चरेश लुकाएर राखिएको भन्ने सूचनाको आधारमा गएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र सशस्त्र प्रहरी बेस पोखरियाको टोलीले छापा हानेको थियो ।
स्थानीय फुसन माझीको घरबाट १५ किलो गाजा, चरेश ५ किलो र माझीको घरभन्दा केही पर रहेको नालाबाट २६८ किलो गाजा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए । पक्राउ परेको गांजा र चरेसमाथि थप अनुसन्धान भइरहेको प्र.ना.उ. शर्माले बताए ।
प्रहरी टोलीले लागूऔषधका कारोबारीहरुलाई समात्न असफल भएको छ । प्रहरी पुग्नु अघि नै कारोबारीहरु गाजा नालामा फालेर फरार भएकोले पक्राउ गर्न नसकिएको प्रहरीले जनाएको छ ।
प्रहरी टोलीले गाउँमा रहेका अन्य घरमा समेत खानतलासी गरिरहेकोले लागूऔषधको परिमाण बढ्न सक्ने इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक आशिष अधिकारीले जानकारी दिए ।
मकवानपुरबाट उत्तरी क्षेत्रमा पर्ने जंगलको बाटोबाट गाजा र चरेस पटेर्वा सुगौलीको देवरिया टोलमा ल्याएर विभिन्न स्थानमा भण्डारण गर्ने र त्यही प्रसोधन गरेर भारत हुँदै अन्यत्र पठाउने गरिन्छ ।
घटनास्थलबाट तीनथान गाजा च्याप्ने मेशिनसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

https://ankushdaily.com/