बारा, ६ जेठ ।
बारा जिल्लाको सिम्रौनगढ नगरपालिका १ बैरियास्थित सिमा ईलाकाबाट सशस्त्र प्रहरी टोलीले स्रोत नखुलेको १० लाख ९६ हजार ६ सय २५ रुँपैयासहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बारा जिल्लाको करैयामाई गाँउपालिका ८ नरही बस्ने २६ वर्षीय सद्दाम अन्सारी र सोही ठाँउ बस्ने १८ वर्षीय आकी थिजिज साह छन् । ना४४प ३०४७ नम्वरको मोटरसाइकलमा सवार उनीहरु भारतबाट नेपालतर्फ आँउदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट पिपरपातीबाट खटिएको एपीएफ टोलीले उनीहरुलाई पक्राउ गरेको हो । एपीएफ टोलीले शंका लागी जाँच गर्दा उनीहरुको साथमा सो रुपैयाँ फेला परेपछि पक्राउ गरिएको एपिएफले जनाएको छ।सशस्त्र प्रहरीले निजहरुले प्रयोग गरेको उक्त मोटरसाइकल, दुई वटा मोवाईल फोन, एउटा पेनड्राईभ तथा विभिन्न बैङ्ढको भौचर समेत बरामद गरेको छ ।
त्यसैगरी बारा प्रहरी कार्यालय सिम्रौनगढबाट खटेको प्रहरी टोलीले सिम्रौनगढ नगरपालिका वडा नं. ९ बंकुल टोल स्थित नेपालबाट चोरी निकासी गरी ना.४ च. ७५७६ र ना. ४ च.६१५१ नम्बरको पिकअप बोलेरो गाडीमा कुखुराको चल्ला लग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । पक्राउ गरिएको कुखुराको चल्ला १२ हजार जसको अन्दाजी मुल्य रु.२ लाख ९४ हजार बराबरको रहेको प्रहरीले जनाएको छ । बरामद गरीएको चल्लाहरुलाई आवश्यक कारवाहीको लागि मुल भंसार कार्यालय वीरगंज पर्सामा बुझाईएको प्रहरी कार्यालय सिम्रौनगढले जानकारी दिएको छ ।