डाक्टरको लापरवाहीका कारण एक बालकको मृत्यु, बालकको मृत्युपश्चात गण्डक अस्पताल तनावग्रस्त, प्रहरीद्वारा लाठीचार्ज

56

संतोष रन्जितकार
वीरगन्ज, ७ जेठ ।
वीरगन्जको गण्डक अस्पतालमा उपचारका क्रममा एक बालकको मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको छ । पर्साको बहुदरमाई गाउँपालिका–१ का श्रीराम कुशवाहाका डेढ वर्षीय छोरा सुजितको उपचारमा डाक्टरको लापरवाहीका कारणले मृत्यु भएको अभिभावक र आफन्तले आरोप लगाएका हुन् ।

उपचारका क्रममा बालकको मृत्यु भएपछि आफन्त र अभिभावकहरूले शव बुझ्न इन्कार गर्दै गेटमै धर्ना दिएका थिए । सुजितलाई पखाला लागेपछि बिहीबार वीरगन्जको विर्तास्थित डाक्टर किशोर साहको निजी क्लिनिकमा चेकजाँच गराइएको थियो । डा.साहले सुजितलाई चेकजाँच गर्दै दुई दिनको औषधि दिँदै ठिक नभए गण्डक अस्पतालमा भर्ना गर्न सल्लाह दिएका थिए ।
तर, साहले दिएको औषधि खुवाउँदा स्वास्थ्यमा सुधार नआएपछि बालकलाई उपचारका लागि गण्डक अस्पतालमा भर्ना गराइएको बालकका अभिभावकले बताए । डाक्टर साह गण्डक अस्पतालमा कार्यरत छन् । गण्डक अस्पतालमा नियमित चेकजाँच र औषधि सेवनले बालकको स्वास्थ्यमा क्रमिक सुधार आएको थियो । बच्चा पूर्ण रुपमा ठिक भएपछि पिता श्रीराम कुशवाहाले सुजितलाई आइतबार डिस्चार्ज गरिदिन चिकित्सकसँग आग्रह गर्दा चिकित्सकले एकदिन अझै अस्पतालमा राख्न भनेका थिए ।

औषधिको डोज पुरा गर्न सुजितलाई आइतबार साँझ मोनोसेफ नामक एन्टीबायोटीक इन्जेक्सन लगाउनुपर्ने भन्दै डाक्टर साहले आइतबार साँझ नै सिरिन्जमा भरेर राखिएको इन्जेक्सन बालकलाई सोमबार बिहान आठ बजे १३ घण्टापछि लगाएका थिए । इन्जेक्सन लगाउने बित्तिकै सुजितको मुखबाट फिज आएको थियो, साथै हातखुट्टा साह्रो भएपछि उनलाई आइसीयु कक्षमा लगिएको थियो ।
आइसियुमा उपचारका क्रममा सोमबार राति नै सुजितको मृत्यु भएको भए पनि मृत्युको आधिकारीक जानकारी भने मंगलबार बिहान मात्र आफूलाई अस्पताल प्रशासनले गराएको मृतक बालकका पिता श्रीरामले बताए ।
अस्पतालले आश्वासन दिँदै बालकको मृटु ब्लक भएको छ, एकछिनमै ठिक भइहाल्छ नआतिनुस् भन्दै आईसीयु कक्षबाट आफूलाई बाहिर निकालेको पिता श्रीरामले बताए। उनले भने, ॅअस्पताल गेटमा धेरै बेर कुर्दासम्म चिकित्सकले केहि बताएनन् नत आईसीयु कक्षमै प्रवेश गर्न दिए ।’ चिकित्सकको प्रतिक्षामा बसिरहेका बेला २०–२५ जनाको प्रहरी टोली आएर आफूहरूलाई अस्पताल बाहिर निकालेपछि छोराको मृत्यु भइसकेको शंका लागे पनि चिकित्सकले केहि नबताएको पिता श्रीरामले बताए ।
अस्पताल व्यवस्थापन पक्षले बालकलाई अभिभावकसँग भेटन रोक लगाउँदै रातीनै प्रहरी लगाएर धाकधम्की दिए पनि बालकको मृत्युबारे कुनै आधिकारीक जानकारी नगराएको बताए ।
मंगलबार बिहान १० बजे मात्र उपचारको क्रममा बालकको मृत्यु भएको भनि अस्पताल पक्षले जानकारी गराएको थियो । यसैबीच दोषीलाई कारवाहीको माग गर्दै अस्पतालमा धर्ना बसेका पीडितलाई हटाउन प्रहरीले लाठी चार्ज समेत गरेको थियो ।
प्रहरीले हस्तक्षेप गरेपछि स्थिति झनै तनावपूर्ण बनेको थियो । प्रहरीले प्रदर्शनमा उत्रिएकालाई लाठीचार्ज गरेर भगाउँन खोज्दा केहिबेर प्रहरी र प्रदर्शनकारीबीच घम्सा–घम्सी समेत चलेको थियो । प्रदर्शनकारी तोडफोडमा उत्रिएपछि लाठी चार्ज गर्नुपरेको प्रहरीले जनाएको छ ।
प्रहरीले प्रदर्शनमा उत्रिएका प्रभादेवी, रामअयोध्या महतो, कृष्णा महतो, राहुल गुप्ता लगायत ७ जनालाई नियन्त्रणमा लिएको छ । पीडित परिवारलाई अस्पताल प्रवेशमा रोक नै लगाएको छ । शव बुझेपछि मात्र पक्राउ परेकालाई रिहा गराउने भन्दै पीडित परिवारलाई अस्पताल प्रशासनले मानसिक दवाव दिएको श्रोतले जनाएको छ ।
अस्पतालमा अहिले एकजना प्रहरी निरीक्षकको नेतृत्वमा करिब तीन दर्जन प्रहरी परिचालन गरिएको छ । घटनाबारे बुझ्न जाँदा अस्पताल व्यवस्थापन पक्षले अस्पताल परिसर भित्र सचारकर्मीलाई समेत प्रवेशमा रोक लगाएको छ । पर्साका प्रहरी प्रवक्ता अनन्तराम शर्माले घटनाबारे आफूलाई जानकारी भएको बताए । ॅअस्पताल परिसरमा केहि व्यक्तिले हो–हल्ला गरिरहेको भनेर राती नै खबर आएको थियो, यस विषयमा हामीले अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता शर्माले बताए ।

https://ankushdaily.com/