हावाहुरीले गर्दा एक किशोरीको मृत्यु, अन्य कैयौ घाइते

18

संतोष रन्जितकार
वीरगंज, ९ जेठ ।
बुधबार बेलुका आएको हावाहुरीले पर्सामा एक किशोरीको ज्यान गएको भएको छ । हुरीले पर्साको पकाहामैनपुर गाँउपालिका १ धोरे गाँउका दिनेश सहनीकी १५ वर्षीय छोरी श्रुती सहनीको मृत्यु भएको हो । उनकी दिदी रानी सहनी घाइते भएकी छिन् ।
बुधबार साँझ तरकारी किनेर फर्किदा हुरीले सडक छेउको सिमलको रुख भाँचिएर श्रुती च्यापिएकी थिइन् । रुखमा च्यापिएर घाइते भएकी श्रुतिको उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।
श्रुतिलाई उपचारका लागि सुरुमा वीरगन्ज हेल्थ केयर हस्पिटलमा ल्याइएको थियो । त्यहाँ उनको उपचार सम्भव नभएपछि उनलाई नेशनल मेडिकल कलेजमा रिफर गरिएको र त्यहीँ उपचारका क्रममा राति ११ बजे उनको मृत्यु भएको पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जानकारी दिए ।
हुरीले वीरगन्ज महानगरपालिका वडा नम्बर १८ भवानीपुरमा ७ वटा घरमा क्षति पुर्‍याएको वडा प्रहरी कार्यालय श्रीपुरले जनाएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १८ भवानीपुरका जमदार देवान, विजय पटेल, श्रवण महतो लगायत सात जनाको घरमा हावाहुरीले क्षति पुर्‍याएको छ भने पर्साको ग्रामीण भेग सुपौली, धोरे र भिस्वा तथा करिब आधा दर्जन प्रहरी चौकीहरुमा समेत हुरीले क्षति पुर्‍याएको प्रहरीले जनाएका छन् ।
यस्तै हुरीले पर्साको जिराभवानी गाउँपालिका वडा नंबर ४ मा पनि चार वटा घरको छानो उडाउनुका साथै पोखरीया बजारमा तीन वटा विद्युतको पोल समेत ढलेको छ ।

पर्साको धोबिनी गाँउपालिका वडा नम्बर १ पिपरामा अफताव पटेलको कुखुरा फर्ममा हुरीको कारण करिब चार लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । हुरीले पर्सामा भएको अरु भौतिक क्षतिको विवरण संकलन भइरहेको प्रमुख जिल्ला अधिकारी भट्टराइले जानकारी दिए ।
चैत १७ गतेको विनशाकारी हुरीले घरबार बिहीन भएपछि अस्थायी टेन्टमा आश्रय लिएर बसेका मानिसको टेन्ट हुरीले उडाएर उनीहरु थप समस्यामा पारेको बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले बताए ।
बुधबारको हुरीले बाराकै सिम्रौनगढ नगरपालिका र त्यस आसपासका पचरौतामा २० जनाको घर भत्किएको र कोतवाल गाँउमा पनि क्षति पुर्‍याएको छ ।
हुरीले घर भत्किएर च्यापिँदा पचरौता नगरपालिका वडा नम्बर २ बिसुनपुरका रामचन्द्र राउत जयसवार घाइते भएका छन् । हुरीले आफ्नै घरको छाना खसेर च्यापिएका जयसवारलाई छिमेकीहरुले उद्धार गरी उपचारका लागि वीरगन्जको अस्पतालमा पठाएको स्थानीय जयप्रकास राउतले जानकारी दिए ।
सिम्रौनगढ नगरपालिका वडा नम्बर ११ रामनगरमा रहेको प्राथमिक बिधालयको पर्खाल खस्नुका साथै छाना पनि उडाएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष रामकिसुन यादवले जानकारी दिए । हुरीले ठाँउ ठाँउमा विद्युतको पोल पनि ढालेको छ ।