वर्तमान सरकार प्रेस स्वतन्त्रता विरोधी देखिएको छ ः पूर्वप्रम भट्टराई

54

वीरगंज, १३ जेठ ।
पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टी परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले वर्तमान सरकार प्रेस स्वतन्त्रताको विरोधी देखिएको र मीडिया काउन्सिल सम्बन्धी विधेयक त्यसैको निरन्तरता भएको बताउनु भएको छ । पत्रकारितालाई मर्यादित तुल्याउन प्रेस काउन्सिल सक्षम रहेको र केही कमजोरी छ भने त्यसलाई नै बलियो बनाएर लानु पर्ने भन्दै उनले मीडिया भित्र देखिएको विकृतिलाई पनि नियन्त्रण गर्नुपर्ने स्थिती रहेको चर्चा गर्नुभयो । उपप्रधानमन्त्री एवं जनसंख्या मन्त्री उपेन्द्र यादव र आफु कम्युनिष्ट पृष्ठभूमीको भएको र आफुहरुले त्यसबखत बुझेको समाजवाद गलत भएको कारणले गर्दा कम्युनिष्ट पार्टी परित्याग गरेर ढिलै भएपनि समाजवादी पार्टी बनाएको दावी गर्नुभयो ।

वीरगंज उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष सुबोध गुप्ताको अध्यक्षतामा सोमबार सम्पन्न सो कार्यक्रममा सम्बोधन गर्दै उपप्रधानमन्त्री यादवले प्रेस स्वतन्त्रताको दायरा अझ फराकिलो बनाउनु पर्छ भन्दै नारायणी अस्पताललाई राष्ट्रिय स्तरको अस्पताल बनाउन नीतिगत निर्णय भइसकेको र सो स्वरुप विभिन्न टेण्डरहरु आव्हान भइरहेको बताउनु भयो । यदि जग्गा उपलब्ध गराइए मेडिकल कलेज बनाउन सरकारी स्तरबाट आफु तयार रहेको उपप्रधानमन्त्री यादवको भनाई रहेको थियो । सोही कार्यक्रममा बोल्दै प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले सबैभन्दा बढी शोषित र पीडित समुदाय व्यापारी भएको आफुले विभिन्न मञ्चमा भन्दै आएको बताउंदै प्रधानमन्त्री केपी शर्मा ओलीको सुखी नेपाली समृद्ध नेपाल भन्ने नारा कामयाब हुने वाला छैन भन्नु भयो । काण्डै–काण्ड मच्चिरहेको यो मुलुकमा केपी ओलीको सरकारले नागरिकहरुको भलो गर्ने अवस्था देखिदैन भन्दै वीरगंजलाई ड्यामेज गरेर विष्णु पौडेलको पहलमा भैरहवा भन्सारलाई अगाडी बढाउने काम भएको तर अचेल पौडेलको शक्ति कमजोर भएकोले त्यो अवस्था नरहेको बताउनु भयो । सो कार्यक्रममा सांसद प्रदिप यादवले राजश्व अनुसन्धानले यहांका व्यापारीहरुको अफिसमा ट्रकका ट्रक सशस्त्र प्रहरी ओरालेर चारै तिरबाट घेरा हाली आतंकवादी जस्तो व्यवहार गरेर छापामारी कागजपत्र, कम्प्युटर, लैपटप उठाएर लाने गरेको आरोप लगाउनु भयो । त्यस्तो छापामारी गरेर लगिएको व्यापारीहरुले कति कर छले उनीहरुर्लाइ कति जरिवाना भयो ? त्यसबारेमा राजश्व अनुसन्धानले मौन बस्ने गरेकोले उसको छापामारी केको लागि हो ? त्यो सहजै अनुमान गर्न सकिन्छ । पर्सा जिल्लाले सरकारलाई सुनको अण्डा दिएको छ तर सरकारले सुनको अण्डा दिने कुखुरीलाई मार्ने अभियानमा लागेको सांसद यादवको आरोप रहेको थियो । सो कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष त्रय अशोक बैध, गणेश लाठ, प्रदिप केडिया, नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दीपेन्द्र चौहान लगायतले आफ्ना भनाई राख्नु भएको थियो ।

https://ankushdaily.com/