संतोष रन्जितकार
बीरगन्ज, १४ जेठ ।
बीरगन्जका ठुलो औद्योगिक घराना नै केराउ तस्करीमा संलग्न रहेको खुलासा भएको छ ।
बारा पर्सा आद्यौगिक करिडोर अन्तर्गत चैनपुर स्थित नारायणी दाल मिलबाट सोमबार दिउसो लोड भएर आएसिपी हुदै रक्सौल पुगेको २५ हजार किलो केराउ बरामद भएपछि ठुलो घराना तस्करीमा लागेको प्रष्ट भएको हो । विभिन्न नक्कली फर्मको नाममा तेश्रो मुलुकबाट आयात गरि नारायणी दाल मिलमा केराउ थुपारिएको छ ।
आईसिपी भित्रका कर्मचारीलाई समेत प्रभावमा पारि भित्रैबाट तस्करीको सेटिंग भएको रहस्य खुलेको हो । तेश्रो मुलुकबाट मरिच, केराउ, मसुरोको दाल लगायतका खाद्यान्न वस्तु आयात गरी बीरगन्जका ठुला व्यापारी घरानाले आफना उद्योगको गोदाममा भण्डारण गरेको र विभिन्न उपाय अपनाई भारतमा चोरी निकासी गर्दै आएका छन् ।
आइसिपीको नेपाल र भारत दुबै भंसारमा चेकजांच भएर निस्केको केराउ लोड गरिएको दुई वटा मालवाहक ट्रक भारतीय सिमा सुरक्षा बलले नियन्त्रणमा लिएपछि आइसिपी भित्रैबाट पनि तस्करी भइरहेको खुलासा भएको हो ।
नेपाल भारतको खुल्ला सिमानामा आयात निर्यातलाई व्यवस्थीत तथा तस्करी निरुत्साहित गरि सहज व्यापारको उद्देश्यले एकवर्ष अगाडी संचालनमा ल्याइएको आईसिपी पनि अहिले तस्करीको थलो बनेको छ ।
सिमावर्ती रक्सौल पन्टोका स्थित भारतिय एसएसबीको ४७ औ वाहिनीले सोमबार बेलुकाको समयमा आईसिपीबाट जांचपास भई निस्केको बीआर ०६ जी २८३८ तथा एमपी ०९ एचएफ नम्बरको केराउले भरिएको दुईवटा मालवाहक ट्रक नियन्त्रणमा लिइएको थियो । दुबै ट्रकबाट ८ सय बोरामा रहेको २५ हजार किलो केराउ बरामद भएको हो ।
सोमबार दिउसो बारा पर्सा औद्योगिक करिडोर स्थित नारायणी दाल मिलमा दुबै ट्रक लोड भएको पक्राउ परेका गाडीका चालक रक्सौल मझरिया निवासी अखतर अलीले बताए । नारायणी दाल मिलबाट लोडभई रक्सौल भन्दा १५ किलो मिटर अगाडी रामगढवामा अनलोड गरिने चालकहरुले बताए ।
एउटा गाडीमा ४ सय बोरा केराउ र माथीबाट एक स्तह चोकरको बोरा हालेर आईसिपीबाट पशु आहार भनि व्यवसायीले जांचपास गराएको देखिएको छ । बीरगन्जको इनर्वा ठेगाना देखाइएका जयमाँ बिन्दवासनी इम्पेक्स फर्मको बिलमा २५ हजार किलो मटर चुनी (केराउको चोकर) खरिद भई सिमावर्ती रक्सौलको आश्रम रोड स्थित भरत ट्रेडिंगको नाममा जांचपास भएको भन्सार प्रज्ञापन तथा बीरगन्ज उद्योग वाणिज्य संघले दिएको उत्पतीको प्रमाण पत्रमा देखिएको छ ।
बीरगन्ज उद्योग वाणिज्य संघले निकासी हुने वस्तुको उत्पतीको प्रमाण दिएकै अधारमा भन्सारबाट ती वस्तु न्युन शुल्कमा भारत तथा तेश्रो मुलुक निकासी हुदै आएका छन् । संघले माल वस्तुको परिमाण नदेखी कागज मात्रलाई आधार मानेर निकासीको लागि ती वस्तु नेपाल मै उत्पादन भएको प्रमाण दिने गरेको छ ।
संघले कागजलाई नै आधार मानी उत्पतीको रिपोर्ट दिने गरेको र जांचपासको काम भन्सार र प्रशासनको भएको बीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले बताए । आइसिपीबाट पशु अहार (एनिमल फुड) भनि जांचपास भएर १२ हजार ५ सय निकासी शुल्क तिरेर दुबै गाडी पास भएको भंसार कार्यालयले जनाएको छ ।
भंसार प्रवक्ता मनिष महतोले चोकर, मटर चुनी, लगायतको वस्तु समान्य चेकजांच मै निकासी हुने बताए । चोकर मुनी केराउको बोरा राखि ढाँटेर लगेको हुन सकने उनले बताए ।