बसमा लुटपाट गर्ने गिरोह पक्राउ

13

संतोष रन्जितकार
बारा, १९ जेठ ।
प्रहरीले गत शुक्रबार बिहान बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ चौधकिलोस्थित पूर्वपश्चिम राजमार्गको जंग क्षेत्रमा बसमा लुटपाट गर्ने सातजना गिरोहलाई पक्राउ गरेको छ ।
उनीहरुले आफूलाई सीआईबीका प्रतिनिधि भनी गाडी चेकजाँच गर्ने बाहनामा लुटपाट गर्ने गरेका थिए । प्रहरी अनुसन्धानका क्रममा उनीहरुले गाडीमा सुन समेत ओसार–पसार गर्न लागेको सूचना पाएको थियो ।
काठमाण्डौंबाट महोत्तरी जलेश्वरको लाग आउँदै गरेको ना ७ ख २७९० नम्बरको रात्रिकालिन यात्रुबाहक बसलाई मोटरसाइकलमा आएको लुटेरा समूहले बसलाई नियन्त्रणमा लिई बसमा रहेका परिचालकलाई कुटपिट गरी नगद ४५ हजार र दुई हजार भारतीय रुपैयाँ र मोबाइल लुटेर लगेका थिए ।
सो बसका यात्रुहरुले दिएको हुलियाको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक (एसपी सानुराम भट्टराईले जानकारी दिए । उनका अनुसार लुटपाटका क्रममा उनीहरुले बा ७ च ४८७ नम्बरको रातो स्कारपीओ गाडी, ज १२ प ४६८० बा ८६ प ९७७१ नम्बरको पल्सर मोटरसाइकलको प्रयोग गरेका थिए ।
पक्राउ पर्नेमा सर्लाही हरीवनका दिल कुमार दोङ, विजय लामा, सिन्धुली हरीहरपुरका टाइगर भन्ने सुनिल तामाङ, रौतहट गुजरका ज्ञान बहादुर थिङ, काभ्रे महाभारतका विशाल पाख्रिन, बर्दिवासका सन्तोष भन्ने रमे कुमार र सिन्धुली मरीनका संघर्ष थिङ रहेका छन् पक्राउ परेकाहरुलाई डाँका मुद्दामा कारबाही प्रक्रिया अगाडि बढाइएको एसपी भट्टराई जानकारी दिए ।