जिराभवानी गापाको कार्यालय सहयोगीलाई कुटपिट

3

वीरगञ्ज, २० जेठ ।
गाउपालिका कार्यालयको कार्यालय सहयोगीलाई कुटपिट गरी घाइते बनाएको बिरोधमा पर्साको जिरा भवानी गाउँपालिकाका कर्मचारीहरु कामकाज ठप्प पारेर आन्दोलनमा उत्रिएका छन् ।
रक्सी सेवन गरेर स्थानीय तीन जना युवाले आइतबार जिराभवानी गाउपालिकाका कार्यालय सहयोगी श्रीराम पटेललाई कुटपिट गरेको विरोधमा गाउँपालिकामा रहेको पाँचवटै वडा कार्यालयका कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन ।
स्थानीय तीनजना युवक अशोक दास, राजेश थारु र सञ्जु महतोले रक्सी सेवन गरेर गाउपालिकाका कार्यालय सहयोगी श्रीराम पटेललाई कुटपिट गरी घाइते बनाएका थिए ।
मोटरसाईकलमा सवार तथा रक्सी सेवन गरी आएका तीनैजना युवकले कार्यालय सहयोगी पटेललाई कार्यालयबाट घर फर्किने क्रममा गाउपालिकाको वडा नम्बर ४ सुपौली टोलमा पटेलसित बादबिवाद गरि हेल्मेटले टाउकोमा हिर्काई घाईते बनाएको जिराभवानी गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित गिरीले जानकारी दिए ।
कुटपिटबाट घाईते भएका कार्यालय सहयोगी पटेललाई उपचारको लागि नेशनल मेडिकल कलेज बिरगञ्जमा भर्ना गराइएको गिरीले बताए । प्रहरीले कुटपिटमा संलग्न तीनै जना युवकलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा राखेको छ ।