वीरगंज महानगरको मुख्य सडक २५ मिटर बिस्तार गर्ने सडक विभागको निर्णय

8

संतोष रन्जितकार
वीरगंज, २२ जेठ ।
लामो समयदेखि अड्किएको वीरगन्ज महानगरको मुख्य सडक विस्तारको मुद्दाले अब निकास पाउने भएको छ । वीरगन्जको सडकको हकमा सडक विभागले २५ मिटर नै विस्तार गर्ने निर्णय गरेको छ । वीरगन्ज महानगरपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले सडक विस्तारको निर्णय सडक विभागले हालै गरेको जानकारी आफूले पाएको बताए । केन्द्रको निर्णय कार्यान्वयन गर्न महानगरपालिकाको कार्यालयको कुनै आपत्ति वा असहयोग नहुने उनले बताए । वीरगन्ज महानगरको छिमेकी बाराको जितपुर सिमरा उपमहानगरपालिका अन्तर्गत जितपुर बजारमा त्रिभुवन राजपथको दुवैतर्फको घर टहरा सडक विभागले यसै साता हटाएपछि वीरगन्ज महानगरको मुख्य सडकको विस्तारको चर्चा चुलिएको हो । वीरगन्ज पथलैया औद्योगिक करिडोर अन्तर्गतको जितपुर बजारमा सडक विस्तार नहुँदा त्यहाँ ६ लेनको व्यापारिक मार्ग निर्माणको काममा ढिलाइ भइरहेको थियो ।
जितपुरदेखि दक्षिण र उत्तर राजमार्ग विस्तार भइसके पनि जितपुर बासीको असहमतिका कारण जितपुरमा भने सडक विस्तार हुन सकेको थिएन । यस पटक स्थानीयको सहमतिबाटै सडक विभागले सडक विस्तारको काम सम्पन्न गरेको छ । यसअघि जितपुरको यसै समस्याको कारण मोतीहारी–रक्सौल–अमलेखगन्ज पाइपलाइनका पाइप जमिनमुनिबाट ड्रिल गरेर ओछ्याइएको थियो । वीरगन्जमा भने जितपुरको सडक विस्तार भए मात्र वीरगन्जको सडक विस्तार हुने आम बुझाइ रहँदै आएको थियो । जितपुरसँगै अब वीरगन्जको सडक पनि विस्तार हुने चर्चा व्यापक रहेको छ ।
मुलुककै जेठो राजमार्ग त्रिभुवन राजपथको अझै विस्तार नहुँदा महानगरवासीलाई सास्ती हुँदै आएको छ । साँघुरो सडकका कारण विशेषगरी घण्टाघरदेखि छपकैयाँ क्षेत्रमा आवागमनमा बढी समस्या हुने गरेको छ । सबैखाले सवारी साधन मुख्य सडकबाटै चलाउने गरिएको र सडकले सवारी साधनको चाप धान्न सकिरहेको छैन । मुलुकका अन्य सहरहरूको सडक विस्तार भई सहरले मुहार फेरिसक्दा मुलुकको प्रवेशद्वार वीरगन्जको सडक भने अझै पनि विस्तार हुन सकेको छैन । यो सडक विस्तारको चर्चा झन्डै ३ दशकदेखि हुँदै आए पनि त्यसले मूर्त रूप लिन सकेको छैन ।
यस अवधिमा थुप्रै सरकार परिवर्तन र त्यससँगै सडक विस्तारसँग सरोकार राख्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी फरक–फरक दल तथा पृष्ठभूमिबाट आएका मन्त्रीले पाउँदै आएका छन् । उनीहरूले पनि वीरगन्जको मुख्य सडक निकट भविष्यमै विस्तार हुने दाबी गर्दै आए तापनि त्यसो हुन सकेको छैन । महानगरको मुख्य सडक विस्तारको योजना सधैं तुहिँदै आएको छ । वीरगन्जको मुख्य सडकमा महानगरका अधिकांश ठूला उद्योगी व्यवसायी तथा व्यापारिक घरानाहरूको घर तथा व्यापारिक प्रयोजनले निर्माण गरिएका भवन रहेको र उनीहरूले आफ्नो पहुँच प्रयोग गरेर पटक–पटक सडक विस्तारको योजनालाई तुहाउँदै आएको आरोप स्थानीयहरुको रहेको छ ।