वीरगंज महानगरपालिकाद्वारा रातारात ३९ प्रधानाध्यापकहरुको सरुवा, हचुवाको भरमा गरिएको सरुवाको कडा विरोध गर्ने ः अध्यक्ष यादव

14

संतोष रन्जितकार
वीरगंज, २२ जेठ ।
वीरगञ्ज महानगरपालिको शिक्षा समितिले गोप्य रूपमा रातारात ३९ जना प्रधानाध्यापकहरूको सरुवा गरेको छ । प्राथमिक, आधारभूत तथा माध्यमिक विद्यालय गरी विभिन्न ३९ वटा विद्यालयका प्रधानाध्यापकहरूको सरुवा गरिएको हो ।
महानगरभित्र पर्ने ती विद्यालयहरूको शैक्षिक गुणस्तर सुधारका लागि मेयर विजयकुमार सरावगी संयोजक रहेको शिक्षा समितिले ती प्रधानाध्यापकहरूको सरुवा गरेको हो । महानगरको उक्त निर्णय सार्वजनिक भएपछि अहिले महानगरका मेयर विजयकुमार सरावगी र शिक्षा समितिको चर्को आलोचना भइरहेको शिक्षा समितिकै सदस्यहरूले बताएका छन् ।
शिक्षा समितिकी सदस्य तथा कार्यपालिका सदस्य मनोजा चौधरीले मेयर सरावगी कै इसारामा शिक्षा समितिका अन्य सदस्यहरूलाई थाहै नदिई अचानक सरुवा गरी निर्णय पुस्तिकामा हस्ताक्षर गराउन लागेपछि आफूलाई थाहा भएको जानकारी गराइन् । उनले भनिन्, ॅहामीलाई केही पनि थाहा छैन, सरुवा भइसकेको छ, तपाईंहरू दस्तखत गर्नुस् भन्दा म शिक्षा समितिको बैठकबाट बाहिरिएँ, मेयर साहेबले हैकमवादी तरिकाले महानगरलाई चलाउन थाल्नुभएको उहाँको भनाई रहेको थियो ।’
मेयर सरावगीले आफू निकटका लागि राम्रो ठाउँमा पार्दै राजनीतिक पूर्वाग्रहका आडमा ३९ प्रधानाध्यापकको सुटुक्क सरुवा गरेको उनको आरोप रहेको छ । सरुवाका लागि मंगलबार बसेको समितिको बैठकमा समिति भित्रकै सदस्यको विरोधका बीच नगरप्रमुख सरावगीले पेलेर प्रधानाध्यापकको सरुवा गरेको बताइएको छ ।
वीरगञ्जका मेयर सरावगीसँग कुराकानी गर्दा सरुवा भएको कुरा सही हो, तर कार्यान्वयनको चरणमा रहेकाले हाल सरुवा नामावली सार्वजनिक गर्न नमिल्ने बताए । उनका प्रेस संयोजक अनिल तिवारीले आज बुधबार सार्वजनिक बिदा परेकाले शुक्रबार सम्ममा पत्रकार सम्मेलन गरी शिक्षा समितिको निर्णय र सरुवा सम्बन्धी नामावली सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिए ।
शिक्षा समितिमा मेयर सरावगी निकट सदस्य बढी भएकाले अन्य पार्टीका सदस्यलाई निर्णय गरिएको कांग्रेसबाट सदस्य रहेकी मनोजा चौधरीले बताइन् । मेयर सरावगीले बैठकमा मौखिक निर्णय सुनाउँदै निर्णय गर्न आग्रह गर्दै भने, ॅ३९ जनाको सरुवाको विरोध गर्दा, बस्न मन लागे बस्नुस्, नत्र हल छोडेर जानुस् ।’
पूर्वाग्रही ढंगले नगरपालिकाले सरुवा गरेको भन्दै ती प्रधानाध्यापकले झने आक्रोश व्यत्त गरे । मेयरकै मनोपोली ढंगले गत पुस महिनामा पनि आठ जना प्रधानाध्यापकको सरुवा गर्दा विद्यार्थी आक्रोशित भई तोडफोड र प्रहरीसँगको झडपमा समेत उत्रिएका थिए । माईस्थान माध्यमिक विद्यालयका प्रधानाध्यपक बिनोद मेहतालाई सुखचैना माध्यमिक विद्यालयमा सरुवा गर्दा उनी सर्वोच्च अदालतमा सम्म रिट हालेका छन् ।
विगतको प्रवृत्तिलाई अंगिकार गर्दै हालै महानगरले गरेको प्रधानाध्यपक सरुवाले नेपाल शिक्षक महासंघले विरोध जनाएको छ । नेपाल शिक्षक महासंघ पर्साका अध्यक्ष तीर्थराज यादवले हचुवाको भरमा गरिएको सरुवाको आफूहरूले कडा रूपमा विरोध गर्ने बताए । उनले भने, ॅनाम सार्वजनिक अहिले भएको छैन, नाम सार्वजनिक भएपछि सबै कुरा थाहा हुन्छ कसलाई कहाँ पठाइएको छ भनेर । उनले त्यसपछि आफूहरूले चरणवद्ध कार्यक्रम गरी आन्दोलनको घोषणा गर्ने उनले बताए ।