चितुवाको छाला र दाँतसहित एक पक्राउ

9

बारा, २३ जेठ ।
बारा प्रहरीले लोपुन्मुख मानिएको चितुवाको छाला र दाँतसहित जितपुर बजारबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर जिल्ला बकैया गाउँपालिका–२, तिनकुनेका २१ वर्षीय सोमबहादुर गोले रहेको बारा प्रहरीका प्रवक्ता डीएसपी रञ्जित सिंह राठौरले जानकारी गराए ।
पूर्व सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय जितपुरको संयुक्त टोलीले राजमार्गमा उनले बोकेको झोला चेकजाँच गर्दा चितुवाको छाला र दाँत फेला परेको थियो । त्यसपछि उनलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला डिभिजन वन कार्यालय सिमरामा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।