लैङ्गिक समता र सुरक्षा सम्बन्धी तालिम सम्पन्न

13

वीरगंज, २४ जेठ ।
वीरगन्जमा महिला पत्रकारहरुका लागि आयोजित लैंगीक समता र सुरक्षा सम्बन्धि दुइ दिने तालिम शुक्रबार सम्पन्न भएको छ । आइएफजेको आर्थिक सहयोगमा नेपाल प्रेस युनियन पर्साको आयोजनामा सो तालिम होटल कुमु प्यालेसमा सम्पन्न भएको हो । तालिमको समापन समारोहमा बोल्दै नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दीपेन्द्र चौहानले तालिममा सिकेका कुराहरु व्यवहारमा लागु गरेर पत्रकारीता गर्न तालिममा सहभागी महिला पत्रकारहरुलाइ सुझाव दिनुभएको थियो । मधेशका महिला पत्रकारहरुका लागि अवसरहरु प्रशस्त रहेको भन्दै उहाँले महिला पत्रकारहरुको दक्षता र क्षमता अभिवृद्धिका लागि आगामी दिनमा पनि पत्रकार महासंघले यस्ता तालिमहरुको आयोजना गर्न सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । समापन कार्यक्रममा बोल्दै वीरगन्ज महानगरपालिकाकी उपप्रमुख शान्ति कार्कीले वीरगन्जमा पनि महिला पत्रकारहरुको सकृयता बढेको देखेर आफुलाइ गौरव महसुस भएको बताउनुभयो । वीरगन्जका महिला पत्रकाहरुको क्षमता र दक्षता विकासका लागि तालिम र कार्यशाला आयोजना गर्न महानगरपालिकाले केहि रकम विनियोजन गरेको जानकारी दिदै उहाले त्यसका लागि महिला पत्रकारहरु संगठीत भएर आए महानगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।
प्रशिक्षक रिंकु गायत्री मिश्रको अध्यक्षतामा भएको तालिमको समापन समारोहमा प्रशिक्षक माधुरी महत्तो, सहभागी महिला पत्रकारका तर्फबाट सन्ध्या पौडेल, समीना रन्जितकार र प्रिति तिवारीले मन्तव्य व्यक्त गर्नु भएको थियो । दुई दिने तालिममा सहभागी वीरगन्जका २० जना महिला पत्रकारहरुलाइ नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दीपेन्द्र चौहान, माधुरी महत्तो, रिंकु गायत्री मिश्र र चन्द्रकिशोरले प्रशिक्षण दिनु भएको थियो ।