बारा, २६ जेठ ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ दुधौरा पुल नजिकै दुई वटा ट्रक एक–आपसमा ठोक्किँदा ५ जना घाईते भएका छन् ।
पूर्व पश्चिम राजमार्गमा पर्ने दुधौरा पुल नजिकै निजगढबाट पथलैयातर्फ आउँदै गरेको ना. ५ ख. ७६६१ नम्बरको ट्रक र विपरित दिशाबाट आउँदै गरेको ना ६ ख १९३६ नम्बरको ट्रक ठोक्किएर भएको दुर्घटनामा ५ जना घाईते भएका हुन् ।
दुर्घटनामा परि ना ५ ख ७६६१ नम्बरको ट्रकका चालक मोरङको पथरी नगरपालीका वडा नम्बर १० का ४२ वर्षीय दिल बहादुर कटवाल, ट्रकमा सवार मोरङ कानेपोखरी नगरपालिका वडा नम्बर १ बस्ने ३८ वर्षीय केवल थापा घाइते भएका छन् ।
यस्तै ना ६ ख १९३६ नम्बरको ट्रकका चालक रौतहट जिल्लाको चन्द्रपुर नगरपालीका वडा नम्बर ८ घर भएका ३० वार्षीय गजेन्द्र चौधरी, ट्रकमा सवार सोहि ठाउँका १८ वर्षीय धर्मेन्द्र चौधरी र २२ वर्षीय धिरेन्द्र चौधरी घाईते भएका हुन् ।
दुर्घटनामा परि घाईते भएका सबैजनाको सिमराको अल्पाईन अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।