तेल उद्योगमा भीषण आगलागी, चौध घण्टापछि आगो नियन्त्रणमा

7

वीरगंज, २१ असार ।
वीरगञ्ज महानगरपालिका–२१ परवानीमा रहेको सुशील वनस्पति प्रालिमा शनिबार बिहानैदेखि लागेको आगो १४ घण्टापछि नियन्त्रणमा आएको छ । उद्योगको प्याकेजिङ तथा गोदाममा बिहान २ः३० बजेदेखि लागेको आगो अपराहृन ४ः३० बजेपछि नियन्त्रणमा आएको हो ।
बिहान २ः३० बजेदेखि शुरु भएको आगलागीलाई बारा पर्साको विभिन्न स्थानबाट आएको बारुणयन्त्रको सहयोगमा अग्निनियन्त्रक, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेनाको टोलीले आगो नियन्त्रण गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिनुभयो ।
सो आगेलाई नियन्त्रण गर्न वीरगंज, पोखरिया, सिमरा, अमलेखगंज, कलैयाबाट बारुणयन्त्र बोलाइएको पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
तेलमा लागेको आगोलाई नियन्त्रण गर्न फोमको प्रयोग बारुणयन्त्रकर्मीले गरे पनि फोमको उपलब्धता कम भएकाले नियन्त्रणमा समस्या देखिएको प्रजिअ भट्टराईले जानकारी दिनुभयो । उहाँले वीरगञ्जमा फोम नभेटिएको कारण भारतको मोतिहारी तथा काठमाडौँबाट मगाउने प्रयास भइरहेको बताउनुभयो ।
राति उद्योगमा कोही नभएको बेला बिजुलीको तार सर्ट भई आगलागी भएको हुन सकिने प्रहरीको अनुमान रहेको छ तथा आगलागीको कारणबारे अनुसन्धान भइरहेको नायब उपरिक्षक शर्माले जानकारी दिनुभयो । उहाँले आगलागीबाट रु २० करोडभन्दा बढीको धनमाल जलेर नोक्सान भएको उद्योगीले दाबी गरेको प्रहरीले जनाएको छ ।