मानवअधिकार बारे समिक्षा गोष्ठी

4

संतोष रन्जितकार
बीरगंज २१ असार ।
ईन्सेक पर्साले जिल्लामा विगत ६ महिना भित्र भएको मानव अधिकार सम्बन्धी घटनाको बारेमा शनिबार होटेल कुमुप्यालेसमा एक गोष्ठीको आयोजना गरेको छ ।
गएको ६ महिनाको अवधिमा पर्सामा बहुविवाहका ४ घटना, यौन दुर्व्यवहारका १, कर्तब्य ज्यानका ६ , बलात्कार १७, अपहरण, शरीर बन्धक ४, मानव बेचबिखन ३, गर्भपतन २ समेत जम्मा ३९ ओटा मानव अधिकार उल्लंघनका घटनाहरु भएको इन्सेक जिल्ला प्रतिनिधि के.सी.लामिछानेले जानकारी दिए ।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा शर्माले कतिपय मुद्दाहरु अदालतमा जानु नपर्ने र कतिपय अपराधिक घटनाहरु मेलमिलापको नाउँमा टु·ो लगाउन खोज्नु समस्या भएको चर्चा गर्नुभयो ।
सो कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहानले इन्सकेले अभिलेखीकरण गरेको भन्दा बढी घटनाहरु जिल्लामा भएको चर्चा गर्दै कतिपय घटनाहरुको अभिलेखीकरण नभएको बताउनु भयो । नेपाल बार एसोशिएसन पर्साका पूर्व सचिव हरेराम सर्राफले महिलाको प्रयोग गरेर आफ्नो दुनो सोझ्याउने हिसाबले बनावटी बलात्कारका घटनाहरु पनि प्रकाशमा आएको बताउनु भयो ।
कार्यक्रममा सहभागि अर्का अधिवक्ता एवं नेपाल मानव अधिकार संगठन पर्साका पूर्व अध्यक्ष कमल मोहन पोख्रेलले कर्मचारीहरु मानव अधिकार प्रति सम्वेदनशिल नभएको आरोप लगाउनु भयो ।
मानव अधिकार निगरानी समुह पर्साका अध्यक्ष तवरेज अहमदको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।