घुस सहित दुई जना कर्मचारी रंगेहात पक्राउ

34

संतोष रन्जितकार
बारा, २४ असार ।
बारामा फेरी दुई जना कर्मचारी घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटिएको टोलिले पचरौता नगरपालिकाका दुई कर्मचारीलाई घुससहित मंगलबार रंगेहात पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा योजना शाखाका नायब सुब्बा बद्रीबहादुर थापा र इन्जिनियर रामप्रकाश सत्तरा रहेको अख्तियार स्रोतले जनाएको छ । अख्तियारको टोलीले सेवाग्रहीसंग नगद ३५ हजार घुस रकम लिदै गरेको अवस्थामा उनीहरुलाई रंगेहात पक्राउ गरेको हो ।
नासु थापाले सेवाग्राहीसंग योजनाको भुक्तानी टिप्पणी उठाउन २० हजार र ईन्जिनियर सत्तराले सेवाग्रहीसंग योजना अनुगमनमा हस्ताक्षर गरेवापत १५ हजार रकम लिईरहेको अवस्थामा उनीहरुलाई रंगेहात पक्राउ गरिएको टोलिले जनाएको छ । बिशेष सूचनाको आधारमा प्रहरी नायब उपरीक्षक केशव कुमार भट्टराईको नेतृत्वमा बारा आएको टोलिले आज दुई जना कर्मचारीलाई आफ्नो नियन्त्रणमा लिएको हो । पक्राउ परेका थापा र सत्तराका बिषयमा थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक भट्टराईले जानकारी दिनुभयो ।