संतोष रन्जितकार
वीरगञ्ज, २७ असार ।
वीरगञ्ज पब्लिक कलेजले व्यवस्थापन विषय अध्ययन गरेका विद्यार्थी र व्यावसायिक प्रतिष्ठानबीच सम्पर्क सेतुको संस्थागत अभ्यास सुरु गरेको छ ।
वीरगञ्ज पब्लिक कलेज र ग्रोथ सेलरबीच व्यावसायिक शिक्षा लिएका विद्यार्थीहरुलाई औद्योगिक प्रतिष्ठानका लागि चाहिने दक्षता र शिपयुक्त बनाउन संस्थागत प्रयासको सहमति भएको हो ।
शुक्रबार वीरगञ्ज पब्लिक कजेल परिसरमा ग्रोथ सेलरसँगको सहकार्यका अघि बढाइने संस्थाको शाखा उद्घाटनका अवसरमा बोल्दै कलेजका कार्यकारी अध्यक्ष प्राडा दीपक शाक्यले व्यावसायिक प्रतिष्ठानहरुमा संस्थागत अभ्यासको कमी रहेको उल्लेख गरे । आफ्नो कलेजले शिक्षालाई औपचारिकतामा मात्र सीमित नगरी दक्षतामुखी ज्ञानसमेत दिलाएको उनले दाबी गरे । सिकाईलाई अझ व्यवहारिक र पेसामैत्री बनाउन यो प्रयास प्रभावकारी हुने विश्वास शाक्यले व्यक्त गरेका थिए ।
वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले व्यवस्थापन कलेजहरुले उद्योग र व्यापारिक प्रतिष्ठानलाई आवश्यकता अनुसारको जनशक्ति उत्पादनमा केन्द्रित हुनुपर्ने बताए । नेपाल राष्ट्र बैंक वीरगञ्जका प्रमुख राजनबिक्रम थापाले वीरगञ्ज पब्लिक कलेजको यो प्रयासले रोजगारीको बजारमा देखिएको आसमञ्जस्यलाई समाधान गर्न सघाउ पुग्ने बताए ।
नेपाल फोटो पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष राम सर्राफले वीरगञ्जमै स्तरीय शिक्षा प्राप्त गर्ने अवसर भए पनि विद्यार्थीहरु अध्ययनका लागि बाहिरिने प्रवृत्ति बढेको बताए ।
वीगरगञ्जमा शिक्षाको स्तर राम्रो भए पनि त्यसलाई अवमूल्यन गर्ने सोच उचित नभएको भन्दै अध्यक्ष सर्राफले यस्तो सोचमा परिवर्तनको खाँचो औंल्याए । कलेजका प्रिन्सिपल विनय श्रेष्ठ, ग्रोथ सेलरका फ्रतिनिधि लगायतले कार्यक्रममा मन्तव्य व्यत्त गरेका थिए ।