अध्यक्ष चौरसियाका छोराद्वारा हतियार प्रहार, तीन युवक घाइते

16

संतोष रन्जितकार
वीरगन्ज, २८ असार ।
वीरगन्जको आदर्शनगरस्थित नेपाल निर्माण व्यवसायी संघ पर्साका अध्यक्ष रमाकान्त चौरसीयाको घरमै शनिबार दिउसो दुई समुहबीच कुटपिट हुँदा तीन युवक घाइते भएका छन् ।
अध्यक्षकै छोराको समुहको धारिलो हतियार प्रहारबाट तीनजना युवक घाइते भएका छन् । अध्यक्ष रमाकान्त चौरसीयाका छोरा रविकान्त चौरसीयाले नै धारिलो हतियार प्रहार गरी तीनजना युवकलाई घाइते बनाएका थिए । रविकान्त सहितका युवाहरुले धारिलो हतियार प्रहार गरी तीनजना युवालाई घाइते बनाएको बताइएको छ । घाइते हुनेहरुमा वीरगन्जको छपकैयाका वर्कत अली, छपकैयाकै जावेद अन्सारी र श्रीपुरका शरद पटेल रहेका छन् । घाइते तीनैजनालाई सुरुमा नारायणी अस्पतालमा उपचारका लागि लगिएको थियो ।
त्यहाँ उपचार हुन नसकेपछि उनीहरुलाई वीरगन्जको न्यूरो अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । रविकान्तले तीनै जनालाई आफ्नो घरमा बोलाएर आफ्ना साथीहरुको सहयोगमा धारिलो हतियार प्रहार गरी घाइते बनाएको घाइते युवकका अभिभावकहरुले बताएका छन् । घटनापछि घाइतेहरुका आफन्त र गाँउलेले अध्यक्ष रमाकन्तको घरमा ढुंगामुढा गरी तोडफोड गरेका छन् । हतियार प्रहार गर्ने मध्येका रविकान्त र घरमा ढुंगामुढा गर्ने मध्येका एक जना गरी दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।
पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माका अनुसार रविकान्त र उनका साथीहरुबीच विवादका क्रममा झगडा हुँदा रविकान्तको समुहले आक्रमण गरेको थियो । झगडाको कारण भने खुल्न नसकेको र यस बारेमा अनुसन्धान भइरहेको उनले जानकारी दिए । तनावपूर्ण स्थितिलाई नियन्त्रणमा लिन अहिले अध्यक्ष रमाकान्तको घरमा प्रहरी जुटेको छ ।