अविरल वर्षाको कारण बाराको अधिकांश भू–भाग डुबानमा

14

बारा, २८ असार ।
चार दिन अघि देखिको वर्षाले बाराका अधिकाँश भूभाग डुवानमा परेको छ । जिल्लाका फेंटा, विश्रामपुर, देवताल, जीतपुरसिमरा लगायतका क्षेत्र डुवानमा परेका हुँन् ।
डुवानमा परेका करिव पन्ध्र सय घर परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
पिडित परिवारलाई उच्च स्थान नजिकको विद्यालयमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरिक्षक रंजित सिंह राठोरले जानकारी दिए ।
फेंटाको वडा नं.१ त्रिवेणी, विश्रामपुर गाउँपालिकाको २ , ३ , ४ वडा पुर्ण रुपमा डुवानमा परेको छ । यसैगरी देवताल गाउँपालिकाको ६ र ७ पुर्ण रुपमा डुवानमा परेको प्रहरीले जनाएको छ ।
डुवानमा परेकाहरुको उद्दारमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिहरु खटेका छन् ।
यस्तै बाराको हावाहुरी पिडितको घर निर्माणका लागि खटिएका नेपाली सेनाका टेण्टहरु डुवानमा परेका छन् । भने उनीहरुले समयमा खाना खान समेत पाएका छैनन् । उनीहरुका लागि गण, वाहिनीबाट खाना पकाएर ट्रक मार्फत पुर्‍याईएको थियो ।
हावाहुरी पिडितहरु सुरक्षित स्थानमा गए पनि सेनाले सामान लगायत हात हतियारको सुरक्षाका लागि अस्थाई शिविर छोड्न सकेका छैनन् । अविरल वर्षाको कारण निजगढ स्थित लालबकैया नदीमा आएको बाढीले ड्याम भत्काउँदा नदि बस्ती तर्फ पस्ने खतरा बढेको छ । गत असार २५ गते राति देखिको निरन्तर वर्षाका कारण नदीमा आएको बाढीले ड्याम भत्काएको हो । ड्याम भत्किन शुरु भएसँगै वडा नम्बर ९ जोखिममा परेको छ ।
निरन्तरको वर्षाका कारण सडक विस्तारसँगै गाडिएका विजुलीका पोलहरु समेत ढलेका कारण विगत चार दिन देखि जिल्लाका विभिन्न स्थानमा विद्युत सेवा समेत अवरुद्ध रहेको छ । निरन्तर पानी परिरहेका कारण विद्युतको काम अघि बढाउँन नसकिएको नेपाल विद्युत प्राधिकरण सिमरा शाखाले जनाएको छ ।
बाराका दुधौरा, बाणगंगा र पसाहा खोलामा पानीको वहाव उच्च रहेकाले जिल्लाका विभिन्न स्थानहरु डुवानमा परेको हो ।
जिल्लामा निर्माणधिन हुलाकी राजमार्गका कारण राजमार्गको आसपासका क्षेत्रभाग बढि डुवानमा परेको छ । जिल्ला दैवी प्रकोप उद्दार समितिले हाल डुवान भएका स्थानहरुको पहिचान गरी उद्दार कार्यमा लागिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
जिल्लामा हाल सम्म कुँनै पनि मानविय क्षति नभएको प्रहरीले जनाएको छ । अपरान्ह ५ बजे देखि मौसममा सुधार आएकाले हाल वर्षा रोकिएको छ ।