बाढी बगाउंदा एक व्यक्तिको मृत्यु

7

संतोष रन्जितकार
बीरगञ्ज, ३० असार ।
बाढीले बगाएर आइतबारदेखि हराइरहेका वीरगञ्ज खल्वा टोलका दुर्गा साह तुराहा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ खल्वाटोला सिर्सियाका ५० वर्षीय तुराहालाई सिर्सीया नदीमा आएको बाढीले आइतबार साँझ बगाएको थियो ।
घर नजिकैको धारामा पानी लिन गएका तुराहा चिप्लिएर सिर्सिया खोलामा खसेका थिए । उनको घर सिर्सिया खोला किनारमै छ ।
बाढीले बगाए लगत्तैबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त रुपमा खोजी सुरु गरिएको भए पनि सोमबार विहान वीरगञ्ज महानगरपालिका १ छपकैयाँ स्थित भकुवा नजिक सिर्सिया खोलामा तुराहाको शव फेला परेको शसस्त्र प्रहरी बोर्डर आउट पोष्ट सिर्सीयाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक जीवनबहादुर मल्लले जानकारी दिनुभयो । तुराहाको शव पोष्टमार्टमको लागी नारायणी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।