सबै जना एकबद्ध भएर पार्टीलाई एक नम्बर बनाउनु पर्छ ः अध्यक्ष साह

30

संतोष रन्जितकार
वीरगंज, ३० असार ।
निकै लामो कसरत पछि सोमबार नेपाल कम्युनिष्ट पार्टी पर्साको जिल्ला कमिटीले पूर्णता पाएको छ । आज १६५ सदस्यीय जिल्ला कमिटीको बिशेष समारोहका बीच नेकपाका प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले बीरगंज स्थित सिटि पार्टी प्यालेशमा शपथ गराउनु भएको हो ।
उहाँले प्रतिक्रियाबादीहरुले अहिले पनि नेकपा बिरुद्धमा अनेक खालको षडयन्त्र गरिरहेको धारणा राख्नुहुँदै सबै एकताबद्ध भएर पर्सामा नेकपालाई एक नम्बर पार्टी बनाउने लाग्नुपर्ने धारणा राख्नुभएको थियो । उहाँले जिल्ला कमिटी भन्दा पनि माथि निकै कमिटी रहेकोले कसैले पनि चित्त दुखाउनै नपर्ने गरि उचित जिम्मेवारी दिइने बताउनु भयो ।
उहाँले सबै मिलेर पार्टीलाई अघि बढाउन समेत आग्रह गर्नुभयो । कार्यक्रममा नेकपा प्रदेश नम्बर २ सचिब सुमन प्याकुर्यालले पार्टी हितको निम्ती लाग्न सबैलाई आग्रह गर्नुहुँदै जिम्मेवारी नपाएकाहरुलाई सबैको परामर्श गरेर उचित जिम्मेवारी दिने धारणा राख्नुभयो ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्यहरु रामचन्द्र साह, दिनेश राई, निर्मला देवकोटा, प्रदेश सदस्य बालगोपाल थापा, लगायतकाहरुले आ—आफ्नो धारणा राखेका थिए ।
कार्यक्रमको सभापतित्व नेकपा पर्साका अध्यक्ष प्रभु हजराले गर्नुभएको थियो भने संचालन बाबुराम कौशिकले गर्नुभएको थियो । समारोहमा नेकपाका नेता तथा संबिधान सभाका सदस्यहरु राजकुमार गुप्ता, बिचारी यादब, जयप्रकाश थारु, जुदेन अन्सारी, प्रधुम्न चौहान, फुलझरी देबी लगायतको सहभागिता रहेको थियो ।
पार्टी कमिटीमा पर्नुपर्नेहरु नपरेको भन्दै असन्तुष्ट बनेकाहरुलाई समेत अबिलम्ब परामर्श गरि कमिटीमा समेटिने बताइएको थियो ।