युवाहरुद्वारा लोकसेवाको विज्ञापन विरुद्ध विरोध प्रदर्शन

15

संतोष रन्जितकार
वीरगंज, २ साउन ।
नेपाल सरकारले निकालेको लोकसेवा आयोगको विज्ञापन विरुद्ध वीरगंजका सचेत युवाहरुले बिरोध प्रदर्शन गरेका छन् ।
संविधानले दिएको अधिकार विपरित मधेशी, दलित, जनजाती, सिमान्तकृत समुदायको अधिकारलाई कटौती गरी ल्याएको लोकसेवा आयोगको विज्ञापनलाई अस्विकार गर्दै वीरगंजका सचेत युवाहरुले बिरोध प्रदर्शन गरेका हुन् ।
आफ्नै देशमा भएका मधेशी, दलित तथा सिमान्तकृत समुदायलाई सरकारले दोस्रो दर्जाको नागरिकको रुपमा हेरी संविधानले दिएको अधिकारलाई कटौती गरी मधेशमा बसोबास गर्ने मधेशीका छोराछोरीहरुको हकअधिकार कुण्ठित गर्ने गरी ल्याएको लोकसेवा आयोगको विज्ञापन स्वीकार्य नहुने भन्दै सरकार विरुद्ध विरोध प्रदर्शनमा उत्रेका छन् ।
विभेदकारी लोकसेवा विज्ञापन खारेज गर, लोक सेवा आयोग मुर्दाबाद लगायतका नाराका साथ वीरगंजको घण्टाघरमा विरोध प्रदर्शन गरिएको थियो ।
प्रदर्शनमा सामाजिक अभियन्ता प्रकाश थारु, युवा सामाजका कमल चौगाई, समाजवादी पार्टी नेपालका विधार्थी नेता निखिल वर्णवाल, एजाजबाबु राँकी, नेविसंघका विद्यार्थी नेता बद्री तिवारी, भिजिट मधेशका संयोजक ओमप्रकास सर्राफ, संचारकर्मी, निरज पिठाकोठे मगर, अजित भूजेल लगायत सयौको संख्यामा विद्यार्थीहरुको उपस्थिति रहेको छ । कार्यक्रमको सहजीकरण हेमन्त तामांगले गर्नुभएको थियो ।