नेपाली कांग्रेस पर्साद्वारा बाँकेको घटनाको विरोध गर्दै चक्काजाम तथा प्रजिअ मार्फत गृहमन्त्रीलाई ज्ञापन
संतोष रन्जितकार
वीरगंज, ३० भदौ ।
नेपाली काँग्रेस पर्साले सोमबार बाँकेमा भएको घटनाको विरोध गर्नुका साथै दोषीलाई कारवाही गर्न माँग गर्दै चक्काजाम गरेको छ ।
घटनाको बिरोध गर्दै नेपाली काँग्रेस पर्साले वीरगञ्जको घण्टाघर चोकमा १५ मिनेट आवत–जावत बन्द गरेको थियो ।
नेपाली कांग्रेस पर्साले चक्काजाम पश्चात पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटराईमार्फत गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र समेत बुझाएको थियो ।
गएको भदौ २४ गतेदेखि शुरु भएको हिमाल, पहाड, तराई मधेस जनजागरण अभियानको क्रममा बाँकेको खजुरा गाउँपालिकाको सितापुरमा काँग्रेसका नेताहरुमाथि भएको आक्रमणको बिरोध तथा घोर भतसर्ना गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
साथै खजुरा गाउपालिका वडा नम्बर १ का नेकपा अध्यक्ष सुमन मल्लको निर्देशनमा अराजक समुहले काँग्रेसका जिल्ला सभापति किरण कोईराला र केन्द्रिय प्रतिनिधी विधा खनाललाई घाइते बनाइएको आरोप समेत लगाइएको थियो ।
जिल्ला सभापतिको हात भाच्ने गरी भएको आक्रमणको क्रममा सुरक्षा निकाय मौन बस्नुले घटना सुनयोजित तरिकाले गराइएको आशंका उब्जिएको पर्सा सभापति अजय द्विबेदीले बताए । उनले यस्ता घटना भबिष्यमा नदोहरिन तथा घटनामा संलग्नलाई कडा कारवाही हुनुपर्ने माग समेत गरेका थिए ।
चक्काजाम तथा ज्ञापन पत्र बुझाउने टोलीमा काँग्रेसका केन्द्रिय सदस्य अजय चौरसिया, पुर्वमन्त्री सुरेन्द्र चौधरी, पुर्व सांसद अनिल रुंगटा, प्रदेश सभा सदस्यहरू राजेश्वर साह तेली, ओम प्रकाश शर्मा, वीरगन्ज महानगरपालिकाकी उप–मेयर शान्ति कार्की नेपाल विद्यार्थी संघका जिल्ला सभापति विश्वाश रंजन द्विवेदी लगायत नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।