संतोष रन्जितकार
वीरगंज, ३० भदौ ।
सरोकारवालाहरुले दुई/तीन दशकदेखि राज्यको सेवा गरी निवृत भएकाहरुको अनुभवलाई खेर जान नदिने बताएका छन् । काम गर्ने जोस र जाँगर युवा पीढिमा बढी हुने भए पनि काम गराईका तरिका भने अनुभवीहरुसँग लिनुपर्ने उनीहरुले बताएका हुन् ।
सेवा निवृत भएकाहरुको संगठन सेवा निवृत राष्ट्रसेवक कल्याणकारी समाज वीरगन्जको सोमबार शपथ ग्रहण तथा पदाधिकारीलाई प्रमाण–पत्र वितरण समारोहमा स्थानीय सरोकारवालाहरुले सेवा निवृतहरुको अनुभव अझै प्रयोगमा ल्याउन पर्ने सुझाव दिए ।
मुलुकको पछिल्लो संरचना अनुसार निर्माण भएका पालिकाहरुमा शिक्षा, स्वाथ्य, दैविप्रकोप तथा पर्यावरण र समाजिक विकासको कार्यमा नयाँ कर्मचारीको अनुभवले मात्र सेवा प्रवाह स्तरीय हुन नसक्ने भन्दै पुराना कर्मचारी तथा सेवा निवृतहरुको अनुभवलाई समेट्नै पर्ने उनीहरुको सुझाव रहेको थियो । वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले पनि सेवा निवृत राष्ट्रसेवकहरुको सल्लाह, सुझाव र सहयोग स्थानीय क्षेत्रको लागि कन्सल्टेन्टको रुपमा प्रयोगमा ल्याउन सकिने बताए ।
कल्याणकारी समाजका अध्यक्ष बलदेव साहले सेवा निवृत राष्ट्र सेवकहरुको अनुभवको सम्मान र सक्रियताको लागी नै समाजको गठन गरिएको दाबी गरे । नवगठित संगठनका पदाधिकारीहरुलाई पूर्व प्रमुख जिल्ला अधिकारीका रुपमा मुलुकका विभिन्न जिल्लाहरुमा काम गरी सेवा निवृत भएका बलराम सिंहले शपथ ग्रहण गराए । संगठित सेवानिवृत पदाधिकारीहरुलाई वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरागीले प्रमाण–पत्र वितरण गर्दै खारिएको अनुभवलाई राज्यले पनि हेलचेक्रयाइँ गर्न नहुने बताए।