पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई माथि प्रश्न चिन्ह

66

वीरगंज, २ असोज ।
पर्सामा प्रजिअ भएर आएपछि पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रजिअ नारायणप्रसाद भट्टराईले आफु पर्साको विकासको लागि अहोरात्र खट्ने र व्यक्तिगत रुपमा आफु आलोचना सह्न सक्ने व्यक्ति भएकोले आलोचना सहेर पनि जनपक्षिय काम गर्न पछाडी नपर्ने उद्घोष गरेका थिए ।
त्यस बखत प्रजिअ भट्टराईको त्यो भनाईलाई पर्सेली पत्रकारहरुले स्वागत गरेका थिए । तर प्रजिअ भट्टराई “माल आओस तर अरुले चाल नपाओस” भन्ने हिसाबले अगाडी बढी रहेको घटनाक्रमले बताइरहेको छ । नागरिकता सम्बन्धी पर्ने उजुरी होस अथवा पत्रकारहरुले आफ्नो सुत्रद्वारा खोजीनीति गरेर समाचार प्रकाशित गरोस प्रजिअ भट्टराई “माल” कसरी आउँछ त्यसमा चनाखो भएरबस्ने गरेको बताइन्छ । पर्सा कारागारमा भइरहेको बेथितीको बारेमा प्रजिअ भट्टराईलाई सबै कुरा बताएर वीरगंजमा अपराधिक घटना घटाइयो । पर्सा प्रहरीले कतिपय सन्दर्भमा आफ्ना तदारुकता देखाए पनि कारागारबाट जि.प्र.का पर्साले नियमित आम्दानी बुझिरहेको आरोप लाग्दै अFएको छ ।
पर्सा कारागारमा खुलेआम लागुऔषध बिक्री वितरण भइरहेको, गोलघरमा थुनेर कैदीहरुलाई मरणासन्न हुने गरी पिटेर उनीहरुको घरवालासंग त्यहाँका नाइके शेख भोलाले पैैसा उठाइरहेको खबरहरु सार्वजनिक भइरहंदा पनि प्रजिअ भट्टराई मौन बसिरहेको आरोप लागिरहेको छ । पर्सा कारागारका नाइके शेख भोलाको कर्तुतको बारेमा प्रजिअ भट्टराईलाई भन्न गएपछि एक कानले सुनेर अर्को कानले उडाउने गरेको पीडितहरुको भनाइ रहेको छ । वीरगंज महानगरपालिकामा भइरहेको अनियमितता, वीरगंज भन्सार कार्यालयले लक्ष्य अनुरुप राजश्व उठाउन नसकेको यथार्थ र मुल नाकाबाटै पास भएका ट्रकहरु प्रहरीले समातेर राजश्व अनुसन्धान पथलैयामा बुझाउने गरेका घटनाहरुको सन्दर्भमा प्रजिअ भट्टराई मौन हुनुको पछाडी कतै “मौद्रिक” दबाव त छैन ? भनेर शंका गरिदैछ । प्रहरी लगायत अन्य कर्मचारीहरु भटाभट अख्तियारको स्टिङ्ग अप्रेशनमा फस्दै जानुले पनि जिल्ला प्रशासन कार्यालय पर्साका हैसियत माथि प्रश्न चिन्ह उठाएको छ । २०६३ सालमा झुठो विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय पर्साबाट नागरिकता लिनेहरुमाथि कारवाहीको साटो दोहन भइरहेको गुनासो सर्वत्र सुनिदै छ । सोझा–साझा देखिने प्रजिअ नारायण प्रसाद भट्टराईलाई पर्साको एक खाले हावाले छोएको आरोप लाग्न थालेको छ । उनको पालामा पर्साबासी र यो जिल्लाले फड्को मार्ने आशा सबैले गरेको भएतापनि अहिले यो जिल्ला अधोगति तर्फ उन्मुख छ ।