वीरगंजमा भव्य रुपमा संविधान दिवस मनाइयो

8

संतोष रन्जितकार
वीरगंज, ३ असोज ।
वीरगंजमा भव्य रुपले संविधान दिवस मनाइएको छ । प्रदेश २ का मुख्यमन्त्री लगायतका मन्त्रीहरुले संविधान दिवसको विपरित कार्यक्रम गरिरहेको समयमा पनि मधेश आन्दोलनको मुटु वीरगंजमा जिल्ला समारोह समिति पर्साको आयोजनामा भव्य रुपले संविधान दिवस मनाइएको हो ।

मधेश आन्दोलनको मुटु पर्साको वीरगन्जमा संविधान दिवस मनाइरहेको समयमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दी लगायतका मन्त्रीहरु भने जनकपुरमा भइरहेको संविधान दिवस विपरितको ‘नेपालको संविधान २०७२ मा जनताको अवधारणा, राष्ट्रिय बहस र मन्थन २०७६ को कार्यक्रममा सहभागी भएका थिए । संविधान निर्माण भई त्यहि संविधान अन्तर्गत सत्ताभोग गरिरहेका मधेशवादी दलका नेता कार्यकर्ता भने बल्ल यो संविधानको राष्ट्रिय बहस र मन्थनमा जुटेको संविधान दिवस मनाउनेहरुले आरोप लगाएका छन् ।

पर्सामा संविधान दिवस मनाउनेहरुले वीरगन्जको घण्टाघर नजिक रहेको वीपी उद्यानको जग्गाबाट ¥याली निकाली वीरगन्ज नगरको परिक्रमा गरी पुनः सोही ठाउँमा पुगेर सभामा परिणत भएको थियो । सो ¥यालीमा नेकपाका नेता कार्यकर्ता र नेपाली कांग्रेसका नेता कार्यकर्ता आफ्ना झण्डा सहित सहभागी भएका थिए भने स्थानीय विभिन्न शैक्षिक संस्थामा आबद्ध शिक्षक, विद्यार्थी, वित्तिय संस्थामा आबद्धदेखि सर्वसाधारण र कर्मचारी तथा सुरक्षाकर्मीहरुको ठूलो उपस्थिति रहेको छ ।

मधेशवादी दलमा हुनेहरुले त्यहि संविधानको धारा, उपधारामा सत्तामा रजाईं गरेर संविधान दिवस नमनाए झैं संविधान दिवस मनाउनेहरुले पनि गणतन्त्र प्राप्तिका लागि जीवन उत्सर्ग गर्ने शहिदहरुको भने फोटो पनि कार्यक्रममा नराखी उपेक्षा गरे । मधेशी शहिदहरुको फोटो भने ल्याई उनीहरुले त्यो फोटोमा माल्यार्पण गरी मधेशी शहिदहरुको भने सम्मान गरेका छन् ।
कार्यक्रममा उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंजका माननीय मुख्य न्यायाधिस डिल्लीराज आचार्य, नेपाली कांग्रेसका पूर्व मन्त्री तथा संविधानसभा सदस्य सुरेन्द्र चौधरी, नेपाली कांग्रेसका पर्साका सभापति अजय द्विवेदी, जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई, वीरगंज महानगरपालिकाका उप–मेयर शान्ति कार्की, नेकपाका विचारी यादव, राजकुमार गुप्ता, प्रभु हजरा, जयप्रकाश थारु, फुलझरी देवी, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बञ्जारा, लगायत सरकारी तथा गैर सरकारी संघ संस्थाका कर्मचारीहरु, विद्यार्थीहरु तथा संचारकर्मीको उपस्थिती रहेको थियो ।