संविधान दिवसको अवसरमा वीरगंज कारागारबाट १२ कैदी रिहा

5

संतोष रन्जितकार
वीरगंज, ३ असोज ।
संविधान दिवसको अवसर पारेर वीरगञ्ज कारागार भित्र रहेका कैदीहरु मध्ये १२ जनालाई रिहा गरिएको छ ।
संविधान दिवसका अवसरमा शुक्रबार देशभरीमा २ सय ८२ कैदीलाई रिहा गरिएको हो । जसमध्ये वीरगञ्ज कारागारबाट ११ पुरुष सहित १ महिला कैदीलाई रिहा गरिएको थियो ।
वीरगञ्ज कारागारमा विभिन्न मुद्दामा सजाय काटिरहेका कैदिहरु मध्ये कैद मिनहाको सिफारिस गरिएका १४ जना कैदीहरु मध्ये १२ जना कैदिको कैद मिनहा गरिएको थियो । कैद मिनाहा भएका कैदी र निजहरुका आफन्तजनहरुले कारगार पुगि फुलमाला सहित टिका लगाई खुसियाली मनाउंदै घर फकेका छन् ।
सरकारले प्रत्येक बर्ष विभिन्न राष्ट्रिय दिवसको अवसर पारेर कारागारमा रहदा राम्रो चालचलन देखाउने कैदिहरुलाई रिहा गर्ने गरेको छ । कैदीहरुको आम माफीको लागि असल चालचलन भएको, बानी ब्यवहारमा सुधार आएको, तोकिएको कैदको कम्तीमा ५० प्रतिशत भुक्तानी गरिसकेको, नकारात्मक सूचीमा परेका १९ प्रकारको मुद्दा बाहेकको हुनुपर्ने र आफू कैदमा रहेको मुद्दा अन्तिम भइसकेको हुनुपर्ने जस्ता न्युनतम योग्यता भएको कैदीलाई रिहा गरिने गरेको छ ।
वीरगञ्ज कारागारबाट रिहा भएका १२ जना कैदी मध्ये ज्यान मार्ने उद्योग तर्फ २ जना, कर्तव्य ज्यान तर्फ ४ जना, सवारी ज्यान तर्फ ४ जना, कुटपिट तर्फ १ जना र गर्भपतन तर्फ १ जना रहेको वीरगंज कारागारका जेलर श्रवण कुमार पोखरेल बताए ।
अहिले पनि वीरगंज कारागारमा विभिन्न मुद्दामा १२३४ जना पुरुष र १०१ जना महिला गरी १३३५ जना कैदी रहेका छन् ।