तरुण दल पर्साद्वारा प्रजिअ भट्टराई मार्फत गृहमन्त्रीलाई ज्ञापन

7

संतोष रन्जितकार
वीरगंज, ५ असोज ।
नेपाली कांग्रेस निकट नेपाल तरुण दल पर्साले आइतबार जिल्ला प्रशासन कार्यालय पर्सा मार्फत गृहमन्त्री रामबहादुर थापा (बादल) लाई ज्ञापन पत्र बुझाएको छ ।
नेपाल तरुण दल पर्साले बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिका अध्यक्ष सन्दीप जङ शाह लगायत तरुण कार्यकर्ताहरु माथी असोज १ गते भएको संघातिक आक्रमणको दोषी उपर कारवाहीको मांग गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टाराई मार्फत गृह मन्त्रीलाई ज्ञापन पत्र बुुझाइएको हो । सो ज्ञापन–पत्र नेपाल तरुण दल पर्साका जिल्ला सचिव विवेक कुमार चौरसियाको नेतृत्वमा गएको टोलीले बुझाएको थियो ।
सो ज्ञापन पत्र मार्फत असोज १ गते राति १०ः३० बजे नेपालगन्जको धम्बोझी चोकमा बिनोद खड्का र दीपक खड्का लगायतका हतियारधारी पेशेवर गुन्डाहरुद्वारा नेपालगन्जका नगर अध्यक्ष सन्दीप जङ शाह, घमण्ड खड्का, अमर रोकाया माथी आक्रमण गरि सख्त घाइते बनाएको प्रती नेपाल तरुण दल पर्साले घोर निन्दा र भत्सर्ना समेत गरेको छ ।
घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै घटनामा संलग्न सम्पुर्ण अपराधीहरूलाई कानुनी कार्यवाही गर्न र समाजमा शान्ती र अमन चयन कायम राख्न नेपाल तरुण दल पर्साले नेपाल सरकारसंग जोडदार माग समेत गरेको ज्ञापन–पत्रमा उल्लेख गरिएको छ ।
सो ज्ञापन–पत्र बुझाउनेमा तरुण दलका केन्द्रिय पार्षद हुकुम सिङ, क्षेत्रीय अध्यक्षहरु अनिल यादव, फणिन्द्र पटेल, जिल्ला सदस्यहरु मिकु सिंह, सुशील साह, श्याम चौधरी, उपनेश चौरसिया, रहमदिन सिद्दिकी लगायत तरुण दलका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।