प्रदेश नं. २ को पूर्व–पश्चिम राजमार्गमा टाइम कार्ड लागु

28

संतोष रन्जितकार
वीरगंज, ५ असोज ।
प्रदेश नम्बर २ को पुर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने सप्तरीदेखि बारासम्मको दुरी पार गर्न टाईम कार्ड लागु गरिएको छ ।
प्रदेश नम्बर २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले सप्तरीदेखि बारासम्म पुर्व–पश्चिम राजमार्गको दूरी ५ घण्टामा पार गर्नुपर्ने भन्दै टाईम कार्ड लागु गरेको हो ।
ट्राफिक प्रहरी कार्यालय पथलैयाले राजमार्ग अन्र्तगत अब लामो तथा छोटो दुबै सवारी साधनका लागि टाईम कार्ड लागु गरिएको जनाएको छ । टाईम कार्ड अनुसार सप्तरीको भारदहदेखि बाराको पथलैयासम्मको २ सय २५ किलोमिटर दुरी ५ घण्टा २५ मिनेटमा पार गर्नुपर्नेछ । त्यस्तै भारदहदेखि धनुषाको लालगढ सम्मको १ सय १५ किलोमिटरको दुरीको लागि २ घण्टा ४५ मिनेटको समय तोकिएको तथा लालगढदेखि पथलैयासम्मको १ सय किलोमिटरको दुरी पार गर्नको लागि भने सवारी साधनहरुले अबदेखि ५ घण्टा २५ मिनेट समय पाउनेछन् ।
छोटो दूरीमा चल्ने सवारी साधनहरुका लागि पनि ट्राफिक कार्यालय पथलैयाले टाईम कार्ड लागु गरेको छ । जस अन्र्तगत सप्तरीको भारदहदेखि शम्भुनाथसम्मको ३२ किलोमिटर दुरी पार गर्न ४० मिनेट, शम्भुनाथदेखि कदमाहासम्म २२ किलोमिटर पार गर्न ३० मिनेट, र कदमाहादेखि सिरहा जिल्लाको बन्दिपुरको ४३ लकिलोमिटर दुरी पार गर्न ५५ मिनेट, धनुषाको लालगढसम्म बन्दिपुरबाट पुग्नको लागि ४० मिनेटको समयमा २९ किलोमिटरको दुरी पार गर्नुपर्ने, सर्लाही जिल्लाको कर्माइयादेखि बाराको पथलैया सम्मको ५० किलोमिटरको दुरी पार गर्न ४९ मिनेटको समय टाइम कार्डमा तोकिएको ट्राफिक कार्यालय पथलैयाले जनाएको छ ।
त्यसैगरी कमाईयादेखि लालगढसम्मको ४९ किलोमिटरको दुरी १ घण्टा २० मिनेटमा पार गर्नुपर्नेछ । यसरी लागु गरिएको टाईम कार्ड अनुसारको दूरी पार गर्नुपर्नेमा लापारवाही गरिएको खण्डमा कारवाही समेत गरिने ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रहरी नायब निरिक्षक सुरेन्द्र कोईरालाले जानकारी दिए ।
उनले खासगरी चाडपर्बको बेला भएर त्यस्तै तिब्र गतिका कारणले हुने गरेको सवारी दुर्घटनालाई न्युनिकरण गर्नको लागि गत असोज ३ गते सँबिधान दिवसको दिनदेखि टाईम कार्ड लागु गरिएको बताए । साथै सवारी चालकहरुले मादक पदार्थ लागु पदार्थको सेवन गरेको नगरेको, रात्रि बसहरुमा २ वटा चालकहरु अनिवार्य भएको नभएको, चाडपर्वको समयमा बढी भाडा लिने, सिट क्षमता भन्दा बढी यात्रु ओसार्ने जस्ता क्रियाकलापहरुलाई कडा रुपमा चेकजाँज गरिने कौइरालाले बताए ।
’टाईम कार्ड लागू भएपछि राजमार्गमा अत्यााधिक गतिका कारण हुने सवारी दुर्घटना र कम गतिका कारणले हुने सवारी साधनको जाम हट्ने प्रदेश नम्बर २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले विश्वास लिएको छ ।