बीरगंज, ७ असोज ।
नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले वर्तमान सरकारले सेनालाई कमजोर बनाएर अधिनायकबाद लाद्ने तानाबाना बुनिरहेको बताएका छन् ।
बीरगंजको बीपी उधानमा मंगलबार आयोजित नेपाली कांग्रेसको दोस्रो चरणको जागरण अभियानको समापन समारोहलाई सम्बोधन गर्दै केसीले सो कुरा बताएका हुन् ।
नेता केसीले वर्तमान सरकार लोकतन्त्र र संविधानको खोल ओढेर कहालीलाग्दो भ्रष्टाचारमा डुबेको र प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण शक्ति आफूमा निहीत गर्नतिर लागेको कारण गणतन्त्र लुटतन्त्रमा परिणत भएको आरोप समेत लगाउनु भएको थियो ।
केसीले एनसेल, वाइडबडी, बुडीगण्डकी जस्ता डरलाग्दा भ्रष्टाचार काण्डमा सरकार मुछिएको बताए । उक्त भ्रष्टाचारमा हाम्रा पार्टीका नेताहरु पनि संलग्न भएको झुठा र मिथ्या आरोप लगाएर प्रतिपक्षलाई बदनाम गर्न कम्युनिष्टहरु लागिपरेको उनले जिकिर गरे । कांग्रेस पार्टी सभापति शेरवहादुर देउवाले संसद्मा ठूला भ्रष्टाचारका काण्डबारे छानविन गर्न भनेकोबाट कांग्रेसका नेताहरु कोहीपनि यसमा संलग्न नभएको पुष्टि भएको उनले बताए ।
केसीले मधेस नेपालको समस्या नभएर सम्पदा भएको बताउँदै २००७ सालको क्रान्ति बीरगंजबाट सुरुवात भई नेपालगन्जमा समापन भएको स्मरण गरे । नेपालमा भएका जतिपनि युगान्तकारी परिवर्तन नेपाली कांग्रेसको नेतृत्वमा भएको उल्लेख गर्दै मधेसको नाममा मधेसीको भवनालाई भड्काएर उनीहरुलाई ठग्ने काम मधेसवादी दललहरुले गरेको आरोप लगाए । मधेसवादी दलहरुले मधेसीको शोषण गरेको उनले बताए ।
केसीले सरकारले राष्टिय सुरक्षा परिषद् ऐन सच्चाएर सेनालाई कमजोर बनाउने काम गर्नुबाट पनि सरकारले अधिनायकवाद लाद्ने तानाबाना बुनिरहेको बुझ्न सकिने बताए ।
जागरण भनेको सुसुप्त अवस्थाबाट सक्रियतातर्फ जाने अवस्थालाई भनिने बताउँदै विधि, न्याय, सत्य, पारदर्शीताको विचार अंगिकार नगरेसम्म झन्ड झुन्डमा विभाजित भएको कांग्रेस कही पुग्न नसक्ने पनि उल्लेख गरे ।
नेपाली काग्रेसका पर्सा जिल्ला सभापति अजय द्विवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व मन्त्री सुरेन्द्र चौधरी, पूर्व सांसद् राजेन्द्रबहादुर अमात्य लागयतले सम्बोधन गरेका थिए ।