वर्तमान सरकार र मधेशी दलका जनप्रतिनिधीहरु भ्रष्टाचारमा डुबेको कांग्रेसको आरोप

10

संतोष रन्जितकार
वीरगंज, ९ असोज ।
पर्साको छिपहरमाई गाउपालिकामा बुधबार नेपाली कांग्रेस गाउपालिका कमिटीले दशै, तिहार र छठ पर्वको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा नेपाली कांग्रेस पर्साका नेताहरुले वर्तमान सरकार र पर्साका जनप्रतिनिधीहरुले जनताको कामभन्दा आफनो व्यतिmगत स्वार्थमा डुबेको आरोप समेत लगाएका हुन ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजय चौरसियाले नेकपाको सरकारले ठुला व्यापारीबाट कमिसन लिएर कर मिनाहा गरेको र जनताले तिरेको पैसामा कार्यकर्ता पाल्ने गरेको आरोप लगाएका हुन । केन्द्रिय सदस्य चौरसियाले बर्तमान सरकारसंग जनताले घृणा गर्ने गरेको आरोप लगाउदै आगामी निर्वाचनमा नेपाली कांग्रेसको विकल्प नभएको दाबी गरे ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता एवम् पुर्व मन्त्री सुरेन्द्र चौधरीले नेपाली कांग्रेसलाई जनताको हित र देश विकासको चिन्ता रहेको बताउदै मधेश केन्द्रित दल र नेकपाका जनप्रतिनिधीहरु भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाए । पुर्व मन्त्री चौधरीले केपी ओली नेतृत्वको सरकारले ठुल्ठुला भ्रष्टारलाई ढाकछोप गरि त्यसैको कमिसनले पार्टी चलाईरहेको उनको भनाइ रहेको थियो । उनले ३३ किलो सुन प्रकरण र वाईडबडी प्रकरणमा वर्तमान सरकारका केहि मन्त्रीको हात रहेको आरोप लगाए । उनले स्थानिय तहमा व्याप्त भ्रष्टाचार मौलाएको तथा यसबारे नेपाली कांग्रेसले चुप लागेर नबस्ने बताउदै भ्रष्टाचारको भण्डाफोर केन्द्रदेखि स्थानिय तहसम्म गर्ने बताए ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस पर्साका नेता तथा पुर्व जिविस सभापति जनार्दन सिंह क्षेत्रीले मधेश केन्द्रित दलहरु मधेशी जनतालाई भ्रममा पारी सताको स्वार्थमा रमाएको आरोप लगाए । उनले मधेश केन्द्रित दलका नेताहरुको दोहोरो चरित्र रहेको बताउदै संविधान संसोधनको नाममा एकातिर विरोध गर्ने र त्यहि संविधानलाई मानेर मन्त्री समेत बनेको बताए । यो मधेशी जनतालाई मुर्ख बनाउनुभन्दा अरु केहि नरहेको बताए । कांग्रेस नेता क्षेत्रीले मधेशी जनताले अब मधेशी दलको असली चरित्र बुझिसकेको बताउदै आगामी चुनावमा सबक सिकाउन जनता तयार रहेको तथा उनले जनताको हकहितको पार्टी नेपाली कांग्रेस रहेको र अब नेपाली कांग्रेसको आवश्यकता जनताले महसुस गरिरहेको बताए ।
शुभकामना आदान–प्रदान कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजाल, जिल्ला सदस्य तथा युवा नेता नविन सिंह, क्षेत्र नं.४ का क्षेत्रीय सभापति लालबाबु पाण्डेय लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।