गढीमाई मन्दिरको संरक्षण र सम्वद्र्धनका लागि राज्यको ध्यान जान जरुरी छः राष्ट्रपति

37

वीरगञ्ज, १२ असोज (रासस)ः
राष्ट्रपति विद्यादेवी भण्डारीले गढीमाई मन्दिरको उचित संरक्षण एवं सम्बर्धनका लागि राज्यको ध्यान जान जरुरी रहेको बताउनुभएको छ । गढीमाई पञ्चवर्षीय मेलाको शोभायात्रा तथा समुद्घाटन कार्यक्रमलाई टेलिफोनमार्फत सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले गढीमाई नेपालीका लागि मात्र नभई विश्व मानचित्रमा अङ्कित भइसकेको हुँदा यसको विकासका लागि सबै अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले मुलुकको पर्यटन प्रबद्र्धन तथा अर्थतन्त्रको विकासमा समेत गढीमाई क्षेत्रको ठूलो योगदान रहेको तथा अन्तरराष्टिूय सांस्कृतिक पर्यटकीय क्षेत्रका रूपमा गढीमाई क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
खराब मौसमका कारण पूर्वनिर्धारित कार्यक्रममा उपस्थित हुन नसकेपछि टेलिफोन सम्बोधनमार्फत राष्ट्रपति भण्डारीले मेलालाई सभ्य, भव्य र स्वच्छ रुपमा मनाउन सबैलाई आग्रह गर्नुभयो । सहमति, सहकार्य र एकताको मिलनविन्दुलाई शिरोधार्य गर्दै विवाद रहित रुपमा मेला सम्पन्न गर्न सबैको सहयोग, समर्थन हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
गढीमाई मन्दिर आफैँमा ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक महत्व बोकेको हुँदा यसको पहिचान विश्वसामु अझै परिचित गराउन कुनै कसर बाँकी राख्न नहुने बताउनुभयो । प्रत्येक वर्ष तराईलगायत यस क्षेत्रमा हुने डुबान र नदी कटानको कारण ठूलो मात्रामा अन्नबालीको क्षति हुने भएकाले यसलाई रोक्न दीर्घकालीन उपाय अवलम्बन गर्नुपर्ने र गढीमाई मन्दिर क्षेत्रमा एउटा सुविधा सम्पन्न अस्पतालको आवश्यकता रहेको हुँदा यसका लागि आफूले सक्दो सहयोग गर्ने पनि राष्ट्रपति भण्डारीले बताउनुभयो ।
उहाँले नेपाल सरकारले गढीमाई नगरपालिकालाई नमुना शहरका रूपमा विकास गर्न सारेको लक्ष्य पूरा हुने विश्वास व्यक्त गर्दै प्रदेश नं २ सरकारले अगाडि सारेको ‘बेटी बचाऊ बेटी पढाऊ’ कार्यक्रममा आफनो पूर्ण समर्थन रहेको बताउनुभयो ।
उहाँले यस क्षेत्रलाई सरकारले माछामा आत्मनिर्भर बनाउन माछा सुपर जोन कार्यक्रम अघि सारेको बताउँदै यहाँको कृषि, शिक्षा तथा स्वास्थ्य क्षेत्रको विकास गर्न सङ्घीय सरकार कटिबद्ध रहेको बताउनुभयो ।
मन्दिर दर्शनका लागि आउने भक्तजनको सुविधाका लागि सुलभ शौचालय, शुद्ध खानेपानी, बिजुलीबत्ती र सडक यथाशीघ्र निर्माण गर्न आफूले पहल गरिरहेको पनि राष्ट्रपति भण्डारीले जानकारी दिनुभयो ।
प्रत्येक पाँच पाँच वर्ष वर्षमा लाग्ने सो मेलाको शोभायात्राको उद्घाटनमा गढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शालिग्राम ढकाल, उच्च अदालत जनकपुर वीरगञ्जका मुख्य न्यायाधीश दिल्लीराज आचार्य, सांसद रमेशप्रसाद यादव, गढीमाई ट्रष्टका अध्यक्ष रामचन्द्र साहलगायतले गढीमाईको महिमाबारे प्रकाश पार्नुभएको थियो । उद्घाटनपछि गढीमाई मन्दिरबाट कलश यात्रा निस्केको थियो ।

https://ankushdaily.com/