गण्डकी प्रदेशले पर्यटनलाई मुख्य प्राथमिकतामा राखेको छ ः मन्त्री लम्साल

15

संतोष रन्जितकार
वीरगञ्ज, १२ असोज ।
गण्डकी प्रदेशले पर्यटन प्रवद्र्धन अभियान अन्तर्गत वीरगञ्जमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । वीरगञ्जमा आइतबार एक कार्यक्रमको आयोजना गरी गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले गण्डकी प्रदेशले पर्यटनलाई मुख्य प्राथमिकतामा राखेको तथा आयको प्रमुख स्रोतको रुपमा योजना अघि बढाएको बताएका हुन् । गण्डकीको मुख्य आकर्षण र आम्दानीको स्रोत भनेकै पर्यटन भएकोले सरकारले नै यो अभियान लिएर हिँडेको मन्त्री लम्सालले बताए ।


उनले वीरगञ्जका नगरप्रमुख विजयकुमार सरावगी मार्फत वीरगञ्जका बासिन्दालाई गण्डकी प्रदेश भ्रमणको चुले निम्तो पनि दिए । प्रदेश सरकारले पर्यटन, उर्जा, कृषि, उद्योग, पूर्वाधार, दक्ष जनशक्ति र शान्ति सुरक्षालाई योजनाबद्ध रुपमा अघि बढाएको मन्त्री लम्सालको भनाइ रहेको थियो ।

वीरगञ्जका नगरप्रमुख विजयकुमार सरावगीले वीरगञ्ज महानगरले पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राखेको उल्लेख गरे । तर, संघ सरकारका कतिपय प्रावधानका अन्तरविरोधले योजना प्रभावकारी हुन नसकेको उनले गुनसो गरे ।
कार्यक्रममा पोखरा टुरिज्म काउन्सिलका अध्यक्ष चिरन्जीवी पोखरेल, अभियान संयोजक जुद्धबहादुर गुरुङ, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया लगायतले गण्डकी प्रदेश प्राकृतिक र साहसिक पर्यटनको मुख्य गन्तव्य भएको उल्लेख गरे । अभियन्ताहरुले पर्यटन क्षेत्रमा दक्ष जनशक्ति र पूर्वाधारको कमी रहेको बताए । गण्डकी प्रदेश प्राकृतिक र सांस्कृतिक सम्पदामा सम्पन्न भएकाले पर्यटन नै विकासको आधार भएको बताइएको छ । गण्डकी प्रदेशले बुटवल, वीरगञ्ज, विराटनगर र काठमाडौंमा प्रबद्र्धन अभियान चलाएको छ ।