मुख्य सडक चौडा गर्ने सम्बन्धमा घरधनीहरुद्वारा अदालतमा उजुरी

राज्यले उचित मुआब्जा नदिइ घरटहरा भत्काएमा घरधनीहरुद्वारा विरोध गर्ने चेतावनी

15

संतोष रन्जितकार
वीरगंज, २९ असोज ।
सडक विभागले आफ्नो क्षेत्रफल भनी दाबी गरेको ठाउँमा वर्षौंदेखि बस्दै आएका घरधनीले आफ्नो घरटहरा नहटाउने र सडक विभागलाई आफ्नो जग्गा नदिने बताएका छन् ।
छठसम्मको समयसीमा दिएर सडक विभागले त्रिभुवन राजपथ अन्तर्गत वीरगन्ज बजार क्षेत्रका घरधनीहरुलाई सडक चौडा पार्ने काममा आफै आफ्नो घर टहरा हटाई सहयोग गर्न भनिरहेको समयमा उनीहरुले सहयोग नगर्ने बताएका हुन् ।
घरधनीहरुले ॅराज्यले आफूहरुलाई लालपुर्जा दिएको जग्गा यत्तिकै सडक विभागले भन्दैमा हामी सुम्पिनेवाला छैनौं । ४७ घरपरिवारले अदालतमा उजुरी पनि हालिसकेकोले अदालतको निर्णय आएपछि मात्र सडक विभागलाई सहयोग गर्ने कि नगर्ने निर्णयमा पुग्ने उनीहरुले बताएका छन् ।
घरधनी अरबिन्द गुप्ताले सडक चौडा पार्ने विकास गर्ने काममा हाम्रो बिमति हुँदैन तर वीरगन्जको हकमा २५/२५ मिटर नै चौडा गर्ने हो भने राज्यले हामीलाई उचित मुअब्जा दिनु पर्छ सडक विभागले आफ्नो भनी दाबी गरेको ठाउँ विगत लामो समयदेखि हामीले चर्ची आएका छौं । गुप्ताले वीरगन्ज बजार पुरानो बजार हो । यसको आसपासमा थप सडक सञ्जाल बनिसकेकोले २५/२५ मिटर चौडाको आवश्यकता नरहेको उनले दावी गरे ।
अन्यत्र झैं वीरगन्ज बजार क्षेत्रमा पनि २५/२५ मिटर सडक चौडा पार्नु पर्ने भन्दै गएका तिन दिन वीरगन्जको घण्टाघर चौकमा हस्ताक्षर संकलन भएपछि सडक छेउका घरधनीहरु यो पटक चाही सडक चौडा हुने र आफ्नो घर पनि पर्ने हो कि भनी तरंगित बनेका छन् । उनीहरुले ॅवीरगन्ज युवा तथा व्यापारी सडक पीडित संघर्ष समिति’ पनि गठन गरी राज्यका विभिन्न व्यक्ति र निकाय सँग पहल गर्न तयारी दुरुस्त पारेका छन् ।
आर्थिक चलखेलकै कारण वीरगन्जकै गण्डक, परवानीपुर मात्र नभई बाराको नितनपुर, जितपुर, सिमरा, पथलैया, अमलेखगञ्ज क्षेत्रमा त्रिभुवन राजपथ अन्तर्गतको सडक चौडा भइसक्दा पनि वीरगन्ज बजार क्षेत्रमा भने सडक चौडा पार्ने कामले गति नलिएको वीरगन्जवासी मध्ये धेरैको भनाइ रहेको छ ।
सडक छेउमा घर हुने घरधनीहरुले भने अदालती प्रकृयाका लागि मात्र थोरै थोरै रकम संकलन गरेको स्वीकार गरेका छन् । अदालतमा मुद्दा लड्न त केही रकम चाहिन्छ नै सडक पीडित संघर्ष समितिका संयोजक कुन्दन रौनियारले भने ।
पहिले घरधनीहरुको वीरगन्ज बचाउँ संघर्ष समिति मात्र थियो भने अहिले त्यो सँगै वीरगन्ज युवा तथा व्यापारी सडक पीडित संघर्ष समिति र ॅवीरगन्ज विकास युवा संघर्ष समिति’ गरी दुई समिति पनि थपिएका छन् । सडक पीडित संघर्ष समितिमा करिब १ हजार ५०० सडक छेउका घरधनीहरुको प्रतिनिधित्व गर्ने समिति भनी गठित छ ।
अर्को समितिले अहिले भने कुनै बहानाबाजी नभई सडकको बीचभागबाट दुवैतर्फ २५/२५ मिटर सडक चौडा पारिनु पर्छ भन्दै आइतबार, सोमबार र मंगलबार हजारौं व्यक्तिको हस्ताक्षर संकलन गरेको छ । यो समितिले संकलित हस्ताक्षरलाई नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई बुझाएर यो पटक सडक चौडा पार्नै पर्ने दवाव दिने बताएको छ ।
सडक छेउमा घर हुनेको सडक पीडित संघर्ष समितिले भने सडक चौडा पार्दा आफूहरुको सर्वस्व जाने भएकोले वीरगन्ज बजारका ९ हजार व्यापार व्यवसायमा काम गर्ने व्यक्ति पनि रोजगार विहिन हुने दावी गर्दै सडक छेउका घर नभत्काइनु पर्ने दावी गर्दै आएको छ ।
त्यसैगरी त्रिभुवन राजपथ अन्तर्गतको सडक दाँया बाँया १५/१५ मिटर मात्रै सडक फराकिलो पार्नुपर्ने पक्षमा वीरगन्ज महानगरपालिका पुगेको छ । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगीको घर पनि बजार क्षेत्रको त्रिभुवन राजपथसँगै जोडिएकोले उनी पनि सडकको बीचभागबाट २५/२५ मिटर सडक फराकिलो नहोस् भन्ने पक्षमा नै छन् ।
उनकै अध्यक्षतामा वीरगन्ज महानगरपालिकाका बोर्ड बैठकले वीरगन्ज बजार क्षेत्रमा २५/२५ मिटर नभई १५/१५ मिटर मात्र सडक चौडा पार्न पहल गर्ने निर्णय गरेको महानगरको बोर्ड सदस्यहरुले बताए ।