अवैध पटका सहित एक भारतीय नागरिक पक्राउ

9

संतोष रन्जितकार
वीरगंज, ३० असोज ।
दीपावली र छठ पर्वलाई लक्षित गरी अवैध रुपमा तरकारीको बोरामा पटका हालेर भारतबाट नेपाल ल्याउँदै गरेका एक भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । भारतबाट सस्तो मूल्यमा खरिद गरी नेपालमा महँगो मूल्यमा बिक्री गर्नको लागि तरकारीको बोरामा पटका हालेर लुकाई छिपाई सीमा कटाई सकेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्ला बच्कौरा २ बस्ने २५ वर्षीय राकेश कुशवाहा रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक गौतम थापाले बताए । कुशवाहाले तरकारीको बोरा भित्र तरकारी ल्याए जस्तो गरी प्रहरीलाई समेत झुक्याउन खोजेपछि शंका लागि चेकजाँच गर्दा तरकारीको बोराभित्र पटाका फेला परेको थियो । पक्राउ परेका कुशवाहालाई थप अनुसन्धान गरी आवश्यक कारवाही अगाडि बढाइने पर्सा प्रहरीले जनाएको छ ।
प्रहरीले कडा निगरानी बढाउँन थालेपछि तरकारीको बोरामा पटाका फेला पर्नुले अन्य विष्फोटक पदार्थ पनि सीमा क्षेत्रमा भित्रिन सक्ने प्रहरीले आशंका गरेको छ ।