वीरगंज महानगरपालिकालाई बालमैत्री महानगरपालिका बनाउने अभियान शुरु

मेयर सरावगीको टोलीद्वारा ४ बालबालिकाको उद्धार

11

संतोष रन्जितकार
वीरगन्ज, ३० असोज ।
वीरगन्ज महानगरपालिकालाई बालमैत्री महानगरपालिका बनाउने अभियानमा वीरगंज महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगी लागि परेका छन् ।
बाल श्रम अपराध हो भन्ने महानगरपालिकाले पटक–पटक सुचीत गरेपनि केहि होटल, रेष्टुरेन्ट तथा नास्ता होटलका संचालकहरुले अटेरी गरेर बालकहरुलाई श्रम गराएको प्रति नगरप्रमुख सरावगीको ध्यानाकर्षण भएको छ । उनले सूचनाको आधारमा आफनै नेतृत्वमा बिहिबारदेखि बालबालिकारुलाई उद्धार गर्ने अभियान सुरु गर्नुभएको हो ।
वीरगन्जको माइस्थान, मिना बाजर र होटल क्राउन प्लाजा, रोजको नास्ता होटलहरुमा नगर प्रमुख सरावगीको नेतृत्वमा महानगरपालिकाले गरेका अनुगमनमा ४ जना बालबालिहरुलाई श्रमशोषणबाट उद्धार गरिएको थियो । नगर प्रमुख सरावगीको नेतृत्वमा महानगरपालिका बालमैत्री फोकलपर्सन मुकेश गुप्ता, बाल हेल्प लाइनका प्रमुख मुकेश साह, जिल्ला प्रहरी कार्यालय महिला बालबालिका तथा जेष्ठ नगरिक सेवा केन्दकी प्रतिनिधि तनुजा श्रेष्ठ, अनिता राउत, बाल हेल्पका शम्भु साह र श्याम चौधरी लगायतको टोलीले अनुगमन गरी व्यवसायीहरुले श्रम शोषण गरेको बालबालिहरुको उधार गरेको थियो । वीरगन्जको माइस्थान र मिनाबजारमा रहेको विभिन्न नास्ता पसलहरुमा बालिबालिहरुलाई भाडा बर्तन मसाउने, होटल सफा गराउने जस्ता बालश्रम शोषणको कार्य गर्ने गराउने पाएपछि बाल बालिकाहरुलाई नियन्त्रणमा लिएर उद्धार गरिएको थियो । सो होटल व्यवसायीहरुलाई अबदेखि यस्तो कार्य नगर्न भनी चेतावनी समेत दिइएको थियो तथा पुनः यस्तो कार्य गरिएको पाइएमा कडा भन्दा कडा कार्यवाही गरिने जानकारी गराइएको थियो । उक्त होटेलहरुबाट उद्धार गरिएको बालबालिहरुलाई अभिभावहरुको जिम्मा लगाउन बाल हेल्पलाइनलाई जिम्मा लगाएको महानगरपालिकाले जनाएको छ ।