फरार प्रतिवादी पक्राउ र अर्वैध चल्ला नष्ट

21

बारा, २ कात्तिक ।
सरकारी कागज किर्ते मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरी कैद सजायको लागी बारा जिल्ला अदालतको आदेश अनुसार जेल चलान गरेको छ । जेल चलान हुनेमा बाराको साविक गाबिस ईनर्वामाल वडा नं २ हाल परिवर्तित आदर्श कोतवाल गाउँपालिका वडा नं.३ बस्ने ६२ वर्षीय नागेन्द्र ठाकुर रहेका छन् । बारा जिल्ला अदालतको २०७३ चैत ६ गतेको फैसला आदेशले सरकारी छाप दस्तखत किर्ते मुद्दामा ठाकुरलाई १ वर्ष कैद र तीन लाख ३६ हजार जरिवानाको आदेश दिएको थियो । उनी त्यही बेलादेखि फरार रहदै आएका थिए । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले लुकीछिपी बसेको अवस्थामा उनलाई फेला पारी पक्राउ गरेको थियो । पक्राउ परेका ठाकुरलाई बारा जिल्ला अदालतमा पेश गरि अदालतको आदेश अनुसार निजलाई ठेकिएको कैद तथा जरिवाना भुक्तानको लागी कारागार कार्यालय वीरगञ्ज पठाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
त्यसैगरी सिमा प्रहरी चौकी छतवा बाराबाट खटिएको प्रहरी टोलीले जिल्ला बारा फेटा गाउँपालिका वडा न.४ स्थित सडक खण्डमा भारतबाट नेपाल भित्र्याउन लागेको चल्ला बरामद गरी नष्ट गरेको छ । सो प्रतिबन्धित कुखुराको चल्ला अन्दाजी मुल्य रु. २ लाख ८ हजार बराबरको २६०० वटा (२६ कार्टुन) बेबारिसे अवस्थामा फेला पारी बरामद गरेको थियो । बरामद गरेको चल्लालाई शनिबार पशु क्वारेन्टाईन चेकपोष्ट मटिअर्वा तथा कुखुरा व्यवसायी संघ बाराका प्रतिनिधी, भद्र भलादमी र सञ्चारकर्मीहरुको रोहबरमा पसाहा खोला किनारमा खाल्डोमा पुरी नष्ट गरिएको बारा प्रहरीले जानकारी दिएको छ ।