नेशनल मेडिकल कलेजले विद्यार्थीहरुलाई कुटपिट गरेको सन्दर्भमा विद्यार्थी संगठनहरुद्वारा विरोध प्रदर्शन
संतोष रन्जितकार
वीरगंज, ८ कार्तिक ।
वीरगंजस्थित नेशनल मेडिकल कलेज प्रशासनले विद्यार्थीहरुमाथि गरेको कुटपिट तथा उनीहरुमाथि भएको दमनको विरोधमा वीरगंजमा शुक्रबार प्रदर्शन गरिएको छ । विभिन्न विद्यार्थी संगठनहरुबाट आबद्ध विद्यार्थी नेताहरुले आज दिउँसो घण्टाघरमा कलेज विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।
विद्यार्थीहरुलाई कुटपिट गर्ने र गराउनेलाई कारवाही गर, विद्यार्थी माथीको दमन बन्द गर, सरकारले निर्धारण गरेको शुल्क लागू गर, अशुल गरिएको बढी रकम फिर्ता गर लगायतका नाराहरु लेखिएका प्ले कार्ड सहित बिद्यार्थी नेताहरुले प्रदर्शन गरेका थिए ।प्रदर्शनमा नेपाल विद्यार्थी संघका संघका रोशन सिंह (मुन्ना), बिकास तिवारी, बाल्मिकी यादव, समाजवादी विद्यार्थी युनियनका केन्द्रिय सदस्य निखिल बरनवाल, सुजीत गिरी, शशिकान्त सर्राफ लगायतकाको सहभागिता रहेको थियो ।
त्यसैगरी विद्यार्थी संगठनहरुले नेशनल मेडिकल कलेजले गरेको विद्यार्थीहरु माथि भएको दमनलाई गम्भिरतापूर्वक लिन आग्रह गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा गई प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईलाई ज्ञापन पत्र बुझाएका थिए ।