नेशनल मेडिकल कलेजले विद्यार्थीहरुबाट नियम विपरित अतिरिक्त शुल्क असुल

2

संतोष रन्जितकार
वीरगन्ज, ७ कातिक ।
नेशनल मेडिकल कलेजले विद्यार्थीहरुबाट नियम विपरीत अतिरिक्त शुल्क उठाएको पाइएको छ । नेशनल मेडिकल कलेजका एमडी बसरुद्दिद अन्सारीले एमबीबीएस पहिलो वर्षका विद्यार्थीबाट कानून विपरीत शुल्क उठाएको विद्यार्थीहरुको आरोप रहेको छ ।
नेपाल सरकारले तोकेको शुल्क विपरीत कलेजले विभिन्न बहानामा अतिरिक्त थप पैसा लिने गरेको भन्दै चिकित्सा शिक्षा संघर्ष समितिले वीरगञ्जमा प्रदर्शन समेत गरेको थियो ।
सरकारले राजधानी बाहिरका मेडिकल कलेजमा एमबीबीएस अध्ययनका लागि ४२ लाख ५० हजार रुपैयाँ शुल्क तोकेको छ, तर नेशनल मेडिकल कलेजले एमबीबीएस १८ औं ब्याचको पहिलो वर्षका विद्यार्थीबाट अतिरिक्त शुल्क उठाएको देखिएको छ ।
एक विद्यार्थीका अनुसार होस्टल शुल्क, खाना, रजिष्ट्रेसन, ट्युसनलगायत भन्दै मेडिकल कलेजले मनपरी शुल्क उठाइरहेको हो ।
शुल्क नबुझाए परीक्षामा समस्या आउने भनेपछि मेडिकल कलेजले भनेबमोजिम शुल्क बुझाउन बाध्य भएको ती विद्यार्थीहरुले बताएका छन् । विद्यार्थीले बुझाएको विवरणमा पाँच लाख रुपैयाँ लिखित रूपमै उठाएको पाइएको छ । नेशनल मेडिकल कलेजले परीक्षा, रजिष्ट्रेसन वापत ३५ हजार, लाइब्रेरी शुल्क वापत ३५ हजार, ल्याब शुल्क ३५ हजार, ॅप्रमोसन’ बापत १ लाख २५ हजार, होस्टल ८५ हजार, मेस शुल्क ९० हजार, बिलम्ब शुल्क १६ हजार ८ सय र अन्य गरेर ४० हजार रुपैयाँ उठाएको विद्यार्थीहरुले जानकारी दिएका थिए ।