वीरगन्ज महानगरपालिकाको अग्नि नियन्त्रक चौरसियाको हत्या

घटना सम्वेदनशिल भएकोले तालिम प्राप्त कुकुरको सहयोग लिई अनुसन्धान गर्दै पर्सा प्रहरी

18

संतोष रन्जितकार
वीरगन्ज, ८ कार्तिक ।
वीरगन्ज महानगरपालिका कार्यालयमा कार्यरत एक जना कर्मचारीको हत्या भएको छ । वीरगंज महानगरपालिकाको बारुण यन्त्र शाखामा कार्यरत अग्नि नियन्त्रक वीरगन्ज–१६ नगवा निवासी ४० बर्षिय बुनिलाल प्रसाद चौरसियाको हत्या भएको हो । वीरगंज बाईपास स्थित माईदिया पोखरीको डिलमा शुक्रबार बिहान फालिएको अवस्थामा चैँरसियाको शव फेला परेको थियो ।
पोखरीको पश्चिम पट्टीको डिलमा बिहान करिब एघार बजेको समयमा तन्नामा बाँधेर फालिएको अवस्थामा स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौर, प्रहरी नायब उपरिक्षक गौत्तम थापा सहितको टोली घटना स्थल पुगेर बाँधेको तन्ना फुकाल्दा अग्नि नियन्त्रक चौरसियाको शव फेला परेको थियो । मृतक चौरसियाको नाक, कान, टाउँको र पेटमा घाउँ देखिएको पर्साका प्रहरी नायब उपरिक्षक थापाले बताए ।
उनले भने, चौरसियाको हत्या गरेर उनको शव कपडामा बेरी माथिबाट प्लास्टिकले छोपेर पुन माथिबाट निलो कलरको तन्नाले बाँधेर फालिएको अवस्थामा शव भेटिएको हो । प्रहरीले घटना स्थलको मुचुल्का उठाई उनको शव पोष्ट मार्टमको लागि वीरगन्जको नारायणी अस्पतालमा पठाईएको छ ।
घटना सम्वेदनशिल भएकोले थप अनुसन्धान गर्नको लागि पर्सा प्रहरीले प्रदेश २ को राजधानी जनकपुरबाट तालिम प्राप्त (जर्मन सेफर) जंगे नामक कुकुरलाई समेत झिकाएको थियो ।

प्रहरीले घटनाको अनुसन्धानकै क्रममा वीरगन्ज ६ माईस्थानका दिपु अग्रवाल र उनको श्रीमतीलाई जिल्ला प्रहरी कार्यालयमा झिकाएर सोधपुछ गर्ने काम गरीरहेको छ । बिहिबार (हिजो) बेलुका अग्रवालका श्रीमतीले चौरसियासंग ब्याजमा लिएको ऋणको रकम फिर्ता गर्न चौरसियालाई आफनै घरमा बोलाएका थिए ।