घडिअर्वा पोखरीको छठ पूजाको सम्पूर्ण तयारी पुरा

5

संतोष रन्जितकार
वीरगंज, १५ कार्तिक ।
घडीअर्वा पोखरी छठपूजा व्यवस्थापन समितिले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी छठपूजाको सम्पूर्ण तयारी पुरा भएको बताएको छ । व्यवस्थापन समितिले आ.व. २०७६/०७७ को अनुमानित आम्दानी र खर्चको विवरणको बारेमा समेत जानकारी गराएको हो ।
सम्मेलनमा व्यवस्थापन समितिले आ.व. २०७५/०७६ मा आम्दानी तर्फ १६ लाख ८७ हजार ६७५ र खर्च तर्फ रु.१४ लाख ७३ हजार रहेको थियो भने रु.२ लाख १४ हजार ६७५ बचत गरेको थियो । त्यसैगरी आर्थिक बर्ष २०७६/०७७ को अनुमानित आम्दानी तर्फ रु. १९ लाख र खर्च तर्फ रु. १५ लाख ७० हजार रहेको छ भने बचत तर्फ रु. ३ लाख ३० हजार रहेको समितिको अध्यक्ष प्रेम साह कानुले जानकारी गराएका थिए ।
समितिले सुरक्षाको लागि नेपाल प्रहरी ३०–४० जना, सशस्त्र प्रहरी ६०–७० जना र १५० जना एम्बुलेन्स तयारी अवस्थामा, लाईफ ज्याकेट लगाएर स्वयम्सेवक तयारी रहने, दमकल कर कार्यालय अगाडि राख्ने, सिसिटिभी क्यामेरा गेटमा ४ वटा, बाहिर र भित्र गरि १६ वटा जडान गरिएको छ । छठघाटमा ५ हजार जति पूजाका दौराहरु राखिने अनुमान रहेको र १ लाख ५० हजार मानिसहरु अवलोकन गर्ने छ । सुरक्षा उपसमितिमा प्रभाकर गुप्ता र प्रचार–प्रसार समितीमा क्रान्ती साह रहनु भएको छ ।