संतोष रन्जितकार
वीरगंज, १८ कार्तिक ।
श्रीमती हत्याको अनुसन्धानको लागि श्रीमान् र उनका भिनाजुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पर्साको जीराभवानी गाउँपालिका ३ परसवाकी निपु देवी पासवानको हत्याको अनुसन्धानका लागि प्रहरीले मृतक निपुका श्रीमान् रामबाबु पासवान र श्रीमानका भिनाजुलाई नियन्त्रणमा लिएको हो ।
दुवैजनालाई सोमबार बिहान पासवान कै घरमा सुतिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो । ठोरी गाउँपालिका ५ को ओरिया खोलादेखि पूर्वतिरको झाडीमा आइतबार बेलुका घाँटी रेटेर हत्या गरी फालिएको अवस्थामा नितु देवीको शव फेला परेको थियो । घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी टोली घटनास्थलमा पुगी घटनाको मुचुल्का तयार गरी शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाएको थियो ।
त्यसपछि अनुसन्धानमा जुटेको प्रहरीले मृतक नितुका श्रीमान् पासवान र पासवानका भिनाजुलाई अनुसन्धानका लागि सोमबार बिहान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।