अपहरित बालक सकुशल, गोली हानेर अपहरणकारी गिरफ्तार

16

संतोष रन्जितकार
वीरगंज, २० कार्तिक ।
१४ वर्षिय बालकको अपरहण गर्ने पर्साको पोखरिया नगरपालिका वडा नं ६ सोनवारी बस्ने २० वर्षको राजकुमार दासलाई प्रहरीले बुधबार सार्वजनीक गरेको छ ।
अपहरित बालकको बुवासंग फिरौती रकम लिएर भाग्न खोज्दा प्रहरीले गोली प्रहार गरी दासलाई पक्राउ गरेको थियो । हाल उनको बीरगंजको नारायाणी अस्पतालमा उपचार भइरहेको छ ।
बीरगंज महानगरपालिका वडा नं २५ सिर्सिया स्थायी घर भएका काभ्रेको बनेपामा बस्दै आएका अमजद खानको छोरालाई दासले अपहरण गरेका थिए ।
खानका १४ वर्षिय छोरा बनेपाबाट बीरगंज स्थित घर आउने क्रममा कार्तिक १० गते अपहरणमा परेका थिए । अपहरणकारीले ति बालकले प्रयोग गर्ने मोबाइल प्रयोग गरेर बालक अपहरण भएको सूचना दिदै फिरौतीका लागि १२ लाख रुपैया माग गरेको थियो र फिरौती रकम नदिए बालकको हत्या गर्ने धम्की समेत दिएको थियो ।
बुधबार बीरगंज महानगरपालिकाको वडा नं २५ सिर्सियाको खल्वाटोलामा फिरौती रकम लिन अपहरणकारी आएका थिए । अपहरणकारीले पेस्तोल देखाई पैसाको झोला लिएर भाग्न खोज्दा प्रहरीले गोली हानी उनलाई नियन्त्रणमा लिएको पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिनु भयो ।
अपहरणकारीको दाहिने खुट्टाको घुँडामुनिको भागमा प्रहरीले चलाएको गोली लाग्न गई घाईते भएको र अपहरित बालक अज्ञात स्थलबाट सकुसल उद्दार गर्न प्रहरी सफल भएको उपरिक्षक राठौरले बताउनु भयो ।
प्रहरीले अपहरणकारीको साथबाट भारतीय बिआर २२ जे ०८०३ नम्बर प्लेटको प्लाटीना मोटरसाइकल, कटुवा पेस्तोल एक थान त्यसमा लाग्ने ४ वटा गोली र मोबाइल एक थान बरामद गरेको थियो ।