पर्सा प्रहरीको सराहनीय कार्य , ‘चोरलाई चौतारी साधुलाई सुली’

186

वीरगंज, २० कार्तिक ।
नेपाल कम्युनिष्ट पार्टीका प्रदेश नं. २ का सदस्य रामबाबु बैठाले असईमा जागिर लगाइदिने भनी ठगी गरेका छन् । बैठाले आफ्नो पहुंच पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठसंग रहेकोले उनलाई हरेक प्रहरी भर्नामा कोटा पाउने गरेको र सोही कोटा अन्तर्गत जागिर लगाइदिन्छु भन्दै रौतहट मौलापुर नगरपालिका वडा नं. ७ बस्ने स्व. श्री नारायण प्रसादका छोरा प्रदिप कुमार साहसंग रु.५ लाख रुपैया ठगी गरेका हुन् ।
बैठा राजनीतिक बाहेक अरु कुनै धन्धा नभएको र त्यसैको आँडमा ठगी गर्दै हिडेको कारण पर्सा जिल्लामा उनी बदनाम छन् । प्रदिपका बुवाले खेतबन्धक राखी सयकडा ५ प्रतिशत ब्याजमा पैसा उठाएर बैठालाई दिएका थिए । छोरा असईमा पास नभएपछि पैसाकै कारण हृदयघात भएर श्रीनारायण प्रसादको मृत्यु भएको उनका छोरा प्रदिपले बुधबार एक पत्रकार सम्मेलनको आयोजना गरी बताएका थिए ।
प्रदिपले कार्तिक १ गते रामबाबु बैठा र सुनिल कुमार चौरसियामाथि ठगी मुद्दामा जिल्ला प्रहरी कार्यालय पर्सामा मुद्दा दर्ता गराएका थिए । प्रदिपले आइएमई मार्फत पठाएको पैसा सुनिलले नै बुझेर बैठालाई दिने गरेका थिए । सुनिललाई पनि बैठाले असईमा जागिर लगाइदिन्छु भनी ठगी गरेको पोल खुलेको छ । जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले रामबाबु बैठालाई मंगलबार सम्झना होटलको अगाडी रहेको गुरु· होटलबाट पक्राउ गरेको थियो । बैठा नेकपा पर्साका अध्यक्ष प्रभु हजरासंगै बसेर मदिरापान गरिरहेका थिए । प्रहरीले पक्राउ गरेपछि अध्यक्ष हजराले पर्सा प्रहरी प्रमुख सोमेन्द्र सिंह राठौरलाई म भोली लिएर आउँछु भनेर भनेपछि प्रहरी त्यहाँबाट फर्केको थियो । ठगी मुद्दा दर्ता भएपछि पर्सा प्रहरीले अदालतबाट रामबाबु बैठा र सुनिल कुमार चौरसियाको नाउँमा पक्राउ पुर्जी जारी गराइसकेको थियो । सुनिल र प्रदिप दुवैलाई ठग्ने रामबाबु बैठा बाहिर छन् र ठगिने सुनिल प्रहरीको खोरमा छन् । नेपाल कम्युनिष्ट पार्टीको दुई तिहाईको सरकार कसरी चलिरहेको छ यो घटना त्यसको एउटा सानो उदाहरण हो ।

https://ankushdaily.com/