सत्येन्द्र प्रताप सिंह
रौतहट, २१ कात्तिक ।
हत्या अभियोग लागेका नेपाली कांग्रेसका सांसद मोहम्मद अफताव आलमको बयान जिल्ला अदालत रौतहटमा सकिएको छ । बुधबार कर्तव्य ज्यान मुद्दामा बयान सकिएकामा बिहीबार ज्यानमार्ने उद्योग र बम विस्फोटको मुद्दामा बयान सकिएको हो । रौतहट जिल्ला अदालतले तीन दिन लगाएर आलमसँग बयान लिएको हो । बयानकाक्रममा उनीसित ५१ ओटा प्रश्न सोधिएको बताइएको छ ।
मिसिलमा प्रश्नहरु धेरै भएकाले बयानका लागि समय बढी लागेको अदालतले जनाएको छ । जिल्ला न्यायाधीश दीपक ढकालको इजलासले आलमको बयान लिएको हो । आलमविरुद्ध कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग र विस्फोटन गरी तीनओटा मुद्दा दायर गरिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले तीन अभियोगमा जन्मकैदको सजाय माग–दाबी गर्दै मुद्दा दर्ता गरेको थियो ।
बिहिबारदेखि आलमको थुनछेक बहस भएको अदालतले जनाएको छ । जिल्ला अदालत रौतहटमा आलमसहित ११ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । बाँकी १० जना भने फरार छन् ।
वि.सं. २०६४ साल चैत २७ गते रौतहटको राजपुरमा भएको बम विस्फोटमा घाइते भएकाहरुलाई इँटाभट्टामा हाली जलाएर हत्या गरेको आरोप उनीमाथि लागेको छ ।