बारा जिल्लाको बरियारपुर हुलाकी सडकको निर्माण कार्य ८० प्रतिशत सम्पन्न

संतोष रन्जितकार
कलैया, २० कात्तिक ।
बाराको बरियारपुर स्थित गढीमाई मन्दिरमा पाँच वर्षमा एक चोटी मेला लाग्ने भएको हुंदा सडक कालोपत्रे धमाधम भइरहेको छ ।
वीरगञ्जको प्रतिमाचोकदेखि बाराको बरियारपुरसम्म करीब २० किलोमीटर सडकअन्तर्गत कालोपत्रे गर्ने कार्य ८० प्रतिशत पूरा भइसकेको हुलाकी सडक परियोजना कार्यालय वीरगञ्जले जनाएको हो ।
यस पटकको पञ्चवर्षीय गढिमाई मेलामा सहभागी भक्तजनहरुले धुले सडकको सामना नगर्नु पर्ने तथा मेला अगावै सडकको सम्पूर्ण कार्य पुरा हुने सडक परियोजना वीरगंजले जनाएको छ ।
आयोजनाले सन् २०१७ जनवरीमा सो खण्डको ठेक्का लगाएको थियो । ३० महीनाभित्र काम पूरा गर्ने गरी स्वच्छन्द, समा र पप्पु कन्सट्रक्सनले संयुक्त रुपमा ८५ करोड रुपैयाँमा ठेक्का लिएका थिए । सडकमा डेढ मीटर माटो पुरेर त्यसमाथि कालोपत्रेसहित ७० सेन्टिमीटरको सतह बनाइएको छ । ७ मीटर फराकिलो कालोपत्रे, ३ मीटर फुटपाथ र २ मीटरमा नाला निर्माण भएको समा कन्स्ट्रक्सनका सञ्चालक जहुर आलमले बताए ।
एशियामै प्रसिद्ध धार्मिकस्थल गढीमाई बाराको बरियारपुरमा पर्दछ । स्तरीय सडकको अभावमा भक्तजनलाई आवत–जावतमा समस्या हुने गरेकोमा यो राजमार्ग समयमै स्तरोन्नति भएपछि यहाँको पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने स्थानीयबासिन्दा बताउँछन् । गढीमाईमा प्रत्येक ५ वर्षमा धार्मिक मेला लाग्दछ । यो वर्ष मंसिरमा मेला लाग्दैछ । अहिले मेलाको तयारी चलिरहेको छ ।
गढीमाईमा अत्याधिक बली चढाइने मेलाको रुपमा प्रख्यात छ । अन्य समयमा पनि यहाँ छिमेकी जिल्ला र भारतका सीमावर्ती क्षेत्रबाट भक्तजनको भीड लाग्ने गरेको छ । हुलाकी मार्गको स्तरोन्नतिसँगै सो क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास स्थानीयहरुको रहेको छ ।

Get real time updates directly on you device, subscribe now.