वीरगंज मनपाद्वारा मेनरोडको दायाँबायाँ बन्ने भवनको नक्सापास कार्यमा रोक

27

संतोष रन्जितकार
वीरगंज, २७ कार्तिक ।
सडक विभागको व्यापारिक मार्ग विस्तार योजना अन्तर्गत वीरगंज–पथलैया सडकले वीरगंजको मेनरोड फराकिलो गर्न सडकको दायाँबायाँ २५/२५ मिटरसम्म अतिक्रमण हटाउन सूचना जारी गरेपछि वीरगंज महानगरपालिकाले मेनरोडको दायाँबायाँ बन्ने भवनको नक्शापास कार्य बन्द गरेको छ ।
अतिक्रमण हटाउन सूचना जारी गरेको मितिदेखि वीरगंजको मेनरोड छेउछाउमा बन्ने भवनको नक्शापास कार्य दुई महीनादेखि रोकिएको वीरगंज महानगर नक्शा महाशाखाका प्रमुख राजेशकुमार चौरसियाले बताए ।
यसअघि मनपाले मेनरोडमा बन्ने भवनको नक्शापास गर्दा सडक विभागले मेनरोडको सन्दर्भमा छुट्याएको एकातर्फ २५ मिटर र ६ मिटर बिल्डिङ लाइन गरी ३१ मिटर तथा मनपाले सेट ब्याकको लागि छुट्याएको ५ फिट छाडेर बाँकी क्षेत्रमा भवन बनाउन नक्शापास गर्दै आएको थियो ।
महाशाखा प्रमुख चौरसियाले मनपाले मेनरोडका भवनको नक्शापास गर्दा जग्गाधनीसँग सरकारले चाहेको बखत घर खाली गर्नुपर्ने भन्ने आशयको शर्तनामामा सही, सनाखत गराएर नक्शापास गर्दै आएको बताए । २०३९ सालमा तत्कालीन वीरगंज नगरपञ्चायतले गराएको शर्तनामा यसको प्रमाणको रूपमा लिन सकिन्छ । त्यसपछि पनि नक्शापास गर्दा शर्तनामाका साथै नक्शामैं २५ मिटर सडकको लागि, ६ मिटर बिल्डिङ लाइनको लागि काटेर नक्शापास हुँदै आएको छ ।
वीरगंज मनपाको दोस्रो नगरसभाले वीरगंजको मेनरोड १५/१५ मिटर फराकिलो गर्ने निर्णय गर्दै सो निर्णय कार्यान्वयनको लागि सडक विभाग लगायतमा जानकारी गराएको थियो । मनपाको यो निर्णयलाई सडक विभागले अहिलेसम्म मानेको छैन ।