कालिकामाई गाउँपालिकाको कार्यालय हरिहरपुरमा सर्‍यो

33

संतोष रन्जितकार
वीरगंज, २८ कार्तिक ।
पर्साको कालिकामाई गाउँपालिकाको कार्यालय हरिहरपुरमा सरेको छ । वडा नं. १ मुडलीबाट संचालन हुदै आएको गाउँ कार्यपालिकाको कार्यालय वडा नं. ३ हरिहरपुरमा सरेको हो ।
वडा नं. ३ को कार्यालय कै भवनमा बिहिबारदेखी गाउँ कार्यपालिकाको कार्यालय संचालनमा आएको वडा नं. ५ का वडाध्यक्ष पवन तिवारीले जानकारी गराउनु भएको थियो । केही दिन पहिला देखी नै वडा कार्यालयको भवनलाई गाउँ कार्यपालिकाको कार्यालय संचालनको लागि मर्मत तथा रंग रोहनको काम थालिएको र काम पुरा भए लगतै गाउँपालिका अध्यक्ष नथुनी प्रसाद कुशवाहाद्वारा रिबन काटी कार्यालयको उद्घाटन गरिएको थियो ।
गाउँ कार्यापालिकाको बहुमत सदस्यले ढेड बर्ष पहिला नै हरिहरपुर स्थित रहेको कालिकामाई मन्दिर नजिक गाउँ कार्यपालिकाको कार्यालय सार्न निर्णय गरेको थियो । सो निर्णयलाई आधार मानी संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँ कार्यपालिकाको कार्यालय मुडलीबाट हरिहरपुरमा सरेको राजपत्रमा प्रकाशित समेत गरिसकेको थियो तर मुडलीको जनप्रतिनिधि सहितको स्थानियहरुको विरोधका कारण कार्यालय मुडलीबाट सार्न सकिएको थिएन ।
बिरोध गर्नेहरुले गाउँ कार्यपालिकाको कार्यालय सार्ने निर्णय विरुद्ध हालेको मुद्दा हाल विचाराधिन अवस्थामा रहेको बताइएको छ ।
कार्यालय शुभारम्भ कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत राजु साह, वडा नं. ३ का वडाध्यक्ष संजय कुमार पटेल लगायत कर्मचारी र स्थानियहरुको सहभागिता रहेको थियो ।